तुलसीपुर,८ जेठ ।
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस आज, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईँंदैछ । जैविक विविधताका मुद्धाप्रतिको बुझाई र सचेतना वृद्धि गर्ने उद्धेश्यले संयुक्त राष्ट्रसंघको आव्हानमा हरेक वर्ष मे २२ तारिखमा यो दिवस मनाउने गरिएको छ । दीगो जीविकोपार्जनका लागि जैविक विविधताको मूलप्रवाहीकरण गरौं भन्ने नाराका साथ मनाईने दिवस यता दामा पनि विविध कार्यक्रम गरी मनाईदै छ ।
जैविक विविधता र नेपाल
भौगोलिक हिसाबले विश्वको कुल भूभागको केवल ०.१ प्रतिशत हिस्सा ओगट्ने भएपनि जैविक विविधताको हिसाबले नेपालले विश्वको करीब ४ प्रतिशत हिस्सा ओगट्छ । आर्थिक विकास र मानव विकास सुचकांकको आधारमा नेपाल पछाडि रहेपनि जैविक विविधताको आधारमा नेपाल विश्वमै २५ औं र एसियामा ११ औं स्थानमा पर्छ । नेपालमा ११८ किसिमका पारिस्थितिक पद्धति पाइन्छन् । विश्वमा पाइने कुल जीब प्रजातिको १.१ प्रतिशत र कुल बनस्पती प्रजातिको ३.२ प्रतिशत नेपालमा पाइनुले पनि हामी जैविक विविधतामा कति धनी छौं भन्ने प्रष्ट हुन्छ ।
जैविक विविधता र जिविकोपार्जन
जैविक विविधता जिविकोपार्जनको मुख्य श्रोत हो । विभिन्न वनस्पती तथा जीबजन्य उत्पादनहरुबाटै हाम्रा आवश्यकताहरु परिपूर्ति हुन्छन् । जैविक विविधताबाटै प्राप्त बस्तु तथा सेवाहरुबाट दैनिक जिविकोपार्जनका साथै बस्तु विनियम र व्यापार सम्भव हुँदै आएको छ । नेपालमा ५ सयभन्दा बढी प्रजातिका अन्नबाली खानयोग्य रहेको र तीमध्ये २ सय प्रजातिको खेति गरिँदै आएको तथ्यांक छ । विश्व अर्थव्यवस्थाको ४० प्रतिशत र न्यून आय भएका मुलुकका जनताको ८० प्रतिशत आवश्यकताहरु जैविक विविधताबाटै प्राप्त हुने गरेका छन् ।
जैविक विविधता संरक्षणका चुनौति
एकातिर जलवायु परिवर्तनका कारण जीबजन्तु तथा वनस्पतिका लागि वातावरण प्रतिकुल बनिरहेको छ भने अर्कोतिर बासस्थानको विनाश र प्राकृतिक साधनका दोहनका कारणले गर्दा जैविक विविधता संकटमा परिरहेका छन् । विश्वको तापमानमा लगातार वृद्धि भैरहेको छ । अर्को शताब्दीसम्ममा विश्वको तापमान करीब ४ प्रतिशतसम्मले बढ्ने खतरा रहेको अनुमान बैज्ञानिकहरुले अनुमान गरेका छन् । जलवायु परिवर्तनको कारण विश्वमा प्राणी तथा वनस्पतिको प्रजनन र उत्पादन क्षमतामा पनि असर पारेको छ । विभिन्न चराको अण्डा पार्ने र कोरल्ने समय परिवर्तन हुँदै आएको छ ।
अबको दायित्व
सबै प्राणी र वनस्पति प्रकृतिका अनुपम श्रृष्टि मात्र होइनन् अभिन्न अंगसमेत हुन् जसको अभावमा मानवअस्तित्व सम्भव छैन । त्यसैले जैविक विविधताको संरक्षणप्रति हामी सबैको चासो जाग्नु आवश्यक छ । त्यसको लागि जैविक विविधता संरक्षणको सवाल हरेक नागरिकको मुख्य कर्तव्य बन्नुपर्छ अनि प्राकृतिक श्रोतमाथिको अधिकार नागरिकको मौलिक हक बनाइनुपर्छ । नेपालमा संविधान कार्यान्वयनको प्रकृया अघि बढिरहेको छ । अब बन्ने नयाँ संघिय राज्य संरचनामा प्राकृतिक श्रोत र साधनको समुचित वितरण, श्रोत र साधनमाथि जनताको अपनत्व वोध र संरक्षणको जिम्मेवारी वोध गराउने कानुन बन्नु आवश्यक छ ।