दाङ, ६ साउन । दाङको लमही नगरपालिका–९ अमिलिया, देउखुरीमा आजदेखि २० दिने बाँस हस्तकला तथा उद्यमशीलता विकास तालिम सुरु भएको छ । तालिमको उद्घाटन गर्दै ग्रीन फाउण्डेशन नेपालका केन्द्रीय अध्यक्ष घनश्या पाण्डेले हरेक गाउँलाई “बाँस गाउँ”का रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले जलवायु परिवर्तनको संकट न्यूनीकरणका लागि बाँसजन्य सामग्रीको उत्पादन, प्रयोग र बजारीकरणलाई प्रोत्साहन गर्न आवश्यक रहेको बताउँदै बाँसमा आधारित उद्यमले स्थानीयस्तरमा रोजगारी सिर्जना गरी आयआर्जन वृद्धि गर्न महत्वपूर्ण योगदान पु¥याउने धारणा राख्नुभयो ।
अध्यक्ष पाण्डेले जन्मदेखि मृत्यु संस्कारसम्म बाँसको प्रयोग हुने भएकाले बाँसजन्य सामग्री उत्पादनमा विशेष जोड दिनुपर्ने बताउनुभयो । आधुनिक युगमा पलाष्टिकबाट बनेका डालो, डोको, सुपो प्रयोग बढेको बताउँदै त्यसलाई विस्थापन गरेर बाँसको सामग्रीको उत्पादन र प्रयोग बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो । चीन र भारतमा बाँसजन्य सामग्रीको व्यापक प्रयोग भइरहेको उल्लेख गर्दै नेपालमा पनि बाँसमा आधारित उद्योग तथा उद्यमको विकास गर्न आवश्यक रहेको उहाँको भनाइ थियो ।
गायत्री सामुदायिक वन उपभोक्ता समूह, लमहीका अध्यक्ष कलसी चौधरीको अध्यक्षतामा भएका सामुदायिक वन उपभोक्ता महासंघ दाङका अध्यक्ष हरि प्रसाद भुसाल, नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष ओपेन्द्र बस्नेत,स्थानीय वन महासंघ लमहीका अध्यक्ष पूर्ण बहादुर बस्नेत, स्थानीय वन महासंघ गडुवाका अध्यक्ष नवराज शर्मा, ग्रीन फाउन्डेसन दाङका उपाध्यक्ष आशा जिसी, सचिव जित बहादुर खड्का सदस्य गिता पौडेल लगायतको बोल्नु भएको थियो । कार्यक्रमको सहजीकरण ग्रीन फाउन्डेसन नेपालका कर्मचारी गणेश भण्डारीले गर्नुभएको थियो ।
आयोजकका अनुसार २० दिनसम्म सञ्चालन हुने तालिमले स्थानीय महिलालाई बाँस हस्तकलासम्बन्धी सीप प्रदान गरी स्वरोजगार, उद्यमशीलता विकास तथा आयआर्जन अभिवृद्धिमा टेवा पु¥याउने अपेक्षा गरिएको छ । २० जना सहभागि रहेको तालिमको प्रशिक्षकमा तुलबहादुर केसी रहनु भएको छ । डीजीएम र ग्रीन फाउण्डेशन नेपालको संयुक्त आयोजना तथा गायत्री सामुदायिक वन उपभोक्ता समूह, लमही दाङको समन्वयमा तालिम सुरु भएको हो ।





