रोल्पा, ४ असोज । राष्ट्रिय साना सहरी खानेपानी उपभोक्ता महासंघका अध्यक्ष खेमराज ओलीले रोल्पा सहरी खानेपानी आयोजनाको डिजाइनमा कमजोरी रहेकाले त्यसको पुनरावलोकन गरी आवश्यक सुधार तथा पुनर्निर्माण गर्नुपर्नेमा जोड दिनुभएको छ । रोल्पा सहरी खानेपानी उपभोक्ता संस्थाको सातौँ साधारणसभाको उद्घाटन गर्दै अध्यक्ष ओलीले प्राकृतिक रूपमा उपलब्ध पानीका मुहानबाट सहज रूपमा पानी ल्याउन सकिने अवस्था हुँदाहुँदै लिफ्टिङ प्रणालीमार्फत आयोजना डिजाइन गरिँदा सञ्चालन खर्च बढेको बताउनुभयो ।
लिफ्टिङ प्रणालीका कारण आयोजनाको आर्थिक भार बढेको र त्यसको प्रत्यक्ष असर उपभोक्ताले महँगो महसुल तिर्नुपर्ने अवस्थाका रूपमा व्यहोर्नुपरेको उहाँको भनाइ थियो । “खानेपानी नागरिकको मौलिक अधिकारसँग जोडिएको विषय हो,” अध्यक्ष ओलीले भन्नुभयो, “तर विद्युत् महसुल, मूल्य अभिवृद्धि कर (भ्याट), विभिन्न कर, महँगो ब्याजदर तथा उपभोक्ताको लगानीका कारण आम नागरिकले महँगो दरमा खानेपानीको महसुल तिर्नुपर्ने अवस्था छ।”
उहाँले रोल्पा सहर खानेपानी आयोजनामा देखिएका संरचनागत तथा प्राविधिक समस्याको सम्बन्धित निकायले अध्ययन गरी आवश्यक सुधार गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा रोल्पा नगरपालिकाका नगर प्रमुख सुरेन्द्र थापाले स्वच्छ र सफा खानेपानी पाउनु नागरिकको मौलिक अधिकार भएको बताउनुभयो । खानेपानी क्षेत्रमा स्थानीय सरकारले मात्र सबै काम गर्न नसक्ने उल्लेख गर्दै उहाँले केन्द्र सरकारका योजना तथा बजेटसँग समन्वय गरेर अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी घनश्याम गौतमले खानेपानीजस्तो आधारभूत सेवा आम नागरिकले सहज रूपमा पाउनुपर्ने बताउँदै खानेपानीको महसुल अनावश्यक रूपमा महँगो बनाउन नहुने धारणा राख्नुभयो । उहाँले खानेपानीको महसुललाई सेवा प्रदान गरेबापत लिइने मूल्यका रूपमा बुझ्नुपर्ने बताउनुभयो । संस्थाका अध्यक्ष सुमन विकको अध्यक्षतामा सम्पन्न साधारणसभामा विभिन्न वडाका अध्यक्ष, राजनीतिक दलका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको उद्घाटन महासंघका अध्यक्ष खेमराज ओलीले गर्नुभएको थियो ।





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।