दाङ । राष्ट्रिय साना शहरी खानेपाीन महासंघको पहलमा दाङमा खानेपानीको परीक्षण सुरु गरिएको छ । खानेपानी उपभोक्ता संस्थाले वितरण गर्दै आएको खानेपानीको गुणस्तर तथा शुद्धता मापनका लागि परीक्षण कार्य सुरु गरिएको हो । पहिलो दिन आज संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, नेपालगंज अन्तर्गतको गुणस्तर शाखाले शान्तिनगर र बबई गाउँपालिामा संचालनमा रहेका खानेपानी आयोजनाको पानी परीक्षण गरको छ । पानी परीक्षण टोलीले मुहानदेखि उपभोक्ताको धारासम्म वितरण हुने पानीको नमूना स्थलगतरुपमा पुगेर संकलन गरेको गुणस्तर शाखा प्रमुख रवि किरण आचार्यले जानकारी दिनुभयो ।
दाङका १० वटै पालिकाभित्र रहेका खानेपानी उपभोक्ता संस्थाबाट पानीको नमुना संकलन गरी जिल्लाको समग्र खानेपानीको गुणस्तरसम्बन्धी प्रतिवेदन तयार गरिने राष्ट्रिय साना शहरी खानेपानी महासंघका केन्द्रिय अध्यक्ष खेमराज वलीले जानकारी दिनुभयो । दाङका खानेपानीको गुणस्तरका लागि संकलन गरिएको नमूनाको प्रतिवेदन सम्बन्धित विभाग तथा मन्त्रालयमा पठाइने छ । प्रतिवेदनका आधारमा गुणस्तर सुधारका लागि आवश्यक योजना निर्माण र बजेट विनियोजनका लागि पहल गरिने अध्यक्ष वलीले बताउनुभयो ।
संघीय खानेपानी नेपालगञ्जका प्रमुख जगतनाथ दासले खानेपानीको शुद्धता कायम गर्नु राज्यको महत्वपूर्ण दायित्व भएको बताउँदै यस अभियानको सुरुवातका लागि राष्ट्रिय साना शहरी खानेपानी उपभोक्ता महासंघलाई धन्यवाद दिनुभयो । दाङमा खानेपानीको शुद्धता परीक्षणलाई अभियानका रूपमा अघि बढाउनु महत्वपूर्ण कार्य भएको उल्लेख गर्दै यसबाट जिल्लाको खानेपानीको वास्तविक अवस्था पहिचान गर्न सहयोग पुग्ने बताउनुभयो । दाङबाट सुरु गरिएको यो अभियानलाई देशभर विस्तार गर्ने लक्ष्य राखिएको खानेपानी महासंघले जनाएको छ ।





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।