२०८३ असोज २२ गते बिहिवार

बिजौरी –कोठरी सडक निर्माण कार्य तीव्र

तुलसीपुर, २१ असोज । दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नति आयोजनाको २२ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । सडकलाई अस्फाल्ट प्रविधिबाट कालोपत्रे गरिने छ । ग्रामीण सडक सुधार आयोजना (आरसीआईपी) अन्तर्गत विजौरी–बसढबवा–जमुनी–लक्ष्मीपुर दक्षिण–कुडहरी–कन्जवार हुँदै कोठरीसम्म साढे १५ किलोमिटर सडक कालोपत्रे गर्ने निर्माण व्यवसायीका प्रतिनिधि सिलन बरालले जानकारी दिनुभयो ।

निर्माण भइरहेको उक्त सडक ७ मिटर चौडाइको हुनेछ । २०८३/१२ /११ गते निर्माण कार्य पुरा गर्ने गरि २०८१ फागुन २० गते एमसी–एएनएस–बीजी जेभी, काठमाडौंले कामको जिम्मेवारी पाएको हो । निर्माण कम्पनीले भ्याट सहित ४४ करोड ८ लाख ७७ हजार ७ सय १५ रुपैयाँ ५१ पैसामा उक्त सडकको निर्माण कार्य पुरा गर्नुपर्ने छ ।

हाल सडकको ड्रेनेज निर्माण तथा सब–बेसको काम तीव्र रूपमा भइरहेको छ । निर्माण पक्षले सब–बेस तथा बेसको काम पूरा गरेपछि कालोपत्रेको काम सुरु गर्ने तयारी गरेको जनाएको छ । कालोपत्रेका लागि आवश्यक अस्फाल्ट प्लान्टलगायतका उपकरणसमेत तयारी अवस्थामा रहेको निर्माण पक्षले जनाएको छ ।

निर्माणाधिन सडकको अनुगमन

निर्माणको गति बढाउने तथा स्थानीयस्तरमा देखिएका समस्या तत्काल समाधान गर्ने उद्देश्यले तुलसीपुर उपमहानगरपालिका–१५, १६ र १८ तथा घोराही क्षेत्रको सम्बन्धित वडामा स्थलगत अनुगमन गरिएको छ । अनुगमनका क्रममा ड्रेनेज, सब–बेस तथा बेस निर्माण, कालोपत्रेको तयारी, निर्माण सामग्री तथा उपकरणको उपलब्धता, खानेपानी पाइपलाइन स्थानान्तरण र स्थानीयस्तरमा देखिएका सामाजिक तथा प्राविधिक समस्याबारे छलफल गरिएको थियो ।

नगर प्रवक्ता तथा वडा नं. १८ का अध्यक्ष माधव ओलीले सडक निर्माणलाई प्राथमिकतामा राख्दै स्थानीयस्तरबाट आवश्यक सहजीकरण र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । निर्माणका क्रममा देखिने समस्या समयमै पहिचान गरी सम्बन्धित निकायसँग समन्वय गरेर समाधान गर्न सके आयोजनाले थप गति लिने उहाँको भनाइ छ ।

त्यसैगरी आरसीआईपीका डीई इन्जिनियर विनोद चौधरीले आयोजना पक्ष, स्थानीय सरकार, परामर्शदाता र निर्माण व्यवसायीबीच निरन्तर समन्वय भए निर्माणमा देखिने प्राविधिक तथा व्यवस्थापकीय समस्या छिटो समाधान गर्न सकिने बताउनुभयो । अनुगमनका क्रममा वडा नं. १६ का अध्यक्ष शिवानन्द डीसी र वडा नं. १५ का अध्यक्ष लक्ष्मण चौधरीले सडक निर्माणसँग जोडिएका स्थानीय तथा सामाजिक समस्या समयमै समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।

निर्माण पक्षले आगामी चैतभित्रै आयोजना सम्पन्न गर्ने लक्ष्यसहित कामलाई तीव्रता दिएको जनाएको छ । निर्धारित समयमै सडक निर्माण सम्पन्न गरी गुणस्तरीय यातायात पूर्वाधारका रूपमा विकास गर्ने लक्ष्य राखिएको निर्माण व्यवसायीका प्रतिनिधि बरालले बताउनुभयो । उहाँले स्थानीय वडा र पालिका सरकारबाट अपेक्षा अनुसार सहयोग पाएको पनि बताउनुभयो ।

प्रकाशित मिति : २०८३ असोज २१ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।