तुलसीपुर, ८ मंसिर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले विगतमा वैदेशिक ऋणका विषयमा जनतामा नकारात्मक भाष्य निर्माण गर्नेहरू नै अहिले ऋण प्राप्तिलाई ठूलो उपलब्धिका रूपमा प्रचार गरिरहेको टिप्पणी गर्नुभएको छ । प्रेस चौतारी दाङले तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महासचिव पोखरेलले ऋण नलिई विकास र पूर्वाधार निर्माण अघि बढाउन नसकिने यथार्थ प्रधानमन्त्री बालेन्द्र शाहले समेत बुझ्न थालेको बताउनुभयो ।
भारतले नेपाललाई दिएको दुई खर्ब रुपैयाँ ऋणलाई सरकारले उपलब्धिका रूपमा प्रस्तुत गरिरहेको उल्लेख गर्दै पोखरेलले उक्त रकम अनुदान नभई सर्तसहितको ऋण भएको बताउनुभयो । ‘विगतमा नेपाल, ऋणमा डुब्यो भनेर जनताका बीचमा घृणा फैलाइयो । अहिले त्यही ऋणलाई ठूलो उपलब्धिका रूपमा चर्चा गरिँदैछ । ऋण नलिई अगाडि बढ्न सकिँदैन भन्ने सत्य कुरा प्रधानमन्त्रीले ढिलै भए पनि बुझ्नुभएकोमा खुसी लागेको छ,’ उहाँले भन्नुभयो ।
भारतीय एक्जिम बैंकको ऋण सर्तका कारण कार्यान्वयनमा जटिलता आउन सक्ने भन्दै पोखरेलले अहिले नै त्यसलाई ठूलो उपलब्धि मानेर हर्षबढाइँ गर्न नहुने धारणा राख्नुभयो । दाङमा एक्जिम बैंकको ऋणसँग जोडिएको सडक निर्माणको अनुभव सुनाउँदै उहाँले सर्तका कारण घोराही–तुलसीपुर सडक बन्न नसक्दा ठेक्का रद्द गर्नुपरेको स्मरण गर्नुभयो ।
‘एक्जिम बैंकको ऋणका सर्तबारे हामी दंगालीलाई राम्रोसँग थाहा छ । त्यही ऋणबाट सडक बनाउन खोज्दा सर्तका कारण निर्माण अघि बढ्न सकेन र ठेक्का रद्द गर्नुप¥यो । अहिले नेपाल सरकारकै बजेटबाट सडक निर्माण सुरु गरिएको छ,’ पोखरेलले भन्नुभयो । महासचिव पोखरेलले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलका लागि एयर रुट उपलब्ध गराउने विषयमा सहमति हुन सक्ने सम्भावनालाई सम्झौता नै भइसकेको जसरी प्रचार गर्न नहुने बताउनुभयो ।
यद्यपी एयर रुटका विषयमा सहमति प्राप्त हुनु लुम्बिनीवासी र समग्र नेपालका लागि ठूलो उपलब्धि हुने बताउनुभयो ।
त्यसैगरी फरकप्रसंगमा पोखरेलले स्थानीय तहको निर्वाचन निर्धारित समयमै हुनुपर्नेमा जोड दिँदै आगामी वैशाखभित्रै निर्वाचन सम्पन्न गर्न सरकारसँग माग गर्नुभयो ।
प्रदेश र स्थानीय तहको निर्वाचन एकैपटक गर्ने नाममा स्थानीय तहको निर्वाचन पछि धकेल्दा जनप्रतिनिधिविहीन अवस्था सिर्जना हुने र त्यसले स्थानीय सरकारलाई कमजोर बनाउने उहाँको तर्क छ । ‘प्रदेशको निर्वाचन अर्को मंसिरमा हो । प्रदेश र स्थानीय तहको निर्वाचन सँगै गर्ने हो भने स्थानीय तह छ महिनासम्म जनप्रतिनिधिविहीन हुन्छन् । यसले स्थानीय तहलाई कमजोर बनाउँछ । सरकार यही बाटोतर्फ अघि बढेको देखिन्छ,’ उहाँले भन्नुभयो ।
यसैबीच, नेपाली कम्युनिष्ट पार्टी र नेकपा एमालेबीच चुनावी तालमेलका विषयमा छलफल भइरहेको भए पनि कुनै निष्कर्षमा नपुगेको पोखरेलले जानकारी दिनुभयो । प्रेस चौतारी दाङका अध्यक्ष सुधासुमन ढकालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन एमाले दाङका प्रचार विभाग प्रमुख सङ्गीत बस्यालले गर्नुभएको थियो ।




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।