२०८३ कार्तिक २९ गते आइतवार

शेखर कोइरालाको छुट्टै रणनीति : कांग्रेस एकताका लागि देशव्यापी अभियान चलाउने तयारी

काठमाडौं, २७ कात्तिक । नेपाली कांग्रेसभित्र संस्थापन पक्ष र पूर्वसभापति शेरबहादुर देउवा समूह आ–आफ्नै ढंगले अघि बढिरहेका बेला डा. शेखर कोइरालाले भने दुवै पक्षभन्दा अलग रहेर पार्टी एकताको अभियान सञ्चालन गर्ने तयारी गरेका छन् ।कांग्रेसभित्र महाधिवेशन र नेतृत्व चयनको विषयलाई लिएर दुई धार स्पष्ट देखिएका बेला कोइरालाले कुनै एक पक्षको कित्तामा उभिनुभन्दा विभाजित दुवै समूहलाई पुनः एक ठाउँमा ल्याउने पहल अघि बढाउन लागेका हुन् ।

विशेष महाधिवेशनबाट चयन भएको नेतृत्वले गत असोजमा १५औँ महाधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गरिसकेको छ । उक्त प्रक्रियामा सहभागी नभएका पूर्वसभापति देउवा पक्षले भने समानान्तर महाधिवेशनको तयारी गरिरहेको छ । पार्टीका दुई पक्षबीच बढ्दो दूरी र समानान्तर गतिविधिले कांग्रेस विभाजनको जोखिममा पुगेको अवस्थामा कोइरालाको आगामी राजनीतिक भूमिकालाई चासोका साथ हेरिएको छ ।१४औँ महाधिवेशनमा सभापति देउवाका निकटतम प्रतिस्पर्धी रहेका कोइराला भने संस्थापन र देउवा दुवै पक्षका महाधिवेशन प्रक्रियामा सहभागी भएनन् । बरु उनले पार्टीभित्र देखिएको विवाद समाधान गर्दै एकताको वातावरण निर्माण गर्न देशव्यापी अभियान सञ्चालन गर्ने तयारी गरेका छन् ।

कोइरालानिकट नेताहरूका अनुसार अब पार्टी एकताको प्रयासलाई व्यक्तिगत भेटघाट र संवादमा मात्र सीमित नराखी संगठित अभियानका रूपमा अघि बढाउने तयारी भइरहेको छ । त्यसका लागि देशभरका नेता तथा कार्यकर्तासँग छलफल र परामर्शसमेत भइरहेको छ ।कोइराला समूहको बुझाइमा अहिले कांग्रेसभित्र कसले नेतृत्व लिने भन्नेभन्दा पनि विभाजित पार्टीलाई कसरी पुनः एकताबद्ध बनाउने भन्ने विषय प्राथमिकतामा हुनुपर्छ । बदलिँदो राजनीतिक परिस्थितिमा कांग्रेस आफैँ विभाजित भएर अघि बढ्दा पार्टीको वैचारिक आधार, संगठन र ऐतिहासिक विरासतमा असर पर्ने उनीहरूको निष्कर्ष छ ।

कोइरालानिकट नेता सञ्जयकुमार गौतमले पार्टी विभाजनले कांग्रेसको पहिचान र राजनीतिक आधार कमजोर बनाउने भएकाले आफूहरूको प्रयास समग्र पार्टी निर्माणमा केन्द्रित रहेको बताए ।‘कांग्रेस आफैँ विभाजित भएर अलग–अलग कित्तामा उभिँदा आफ्नो वैचारिकता, सिद्धान्त, निष्ठा, आचरण, आदर्श र इतिहास गुमाउनेबाहेक केही हुँदैन,’ गौतमले भने, ‘हाम्रो प्रयास समग्र कांग्रेस निर्माणमै केन्द्रित छ ।’

नियमित महाधिवेशनकै पक्षमा थिए कोइराला

डा. कोइराला विशेष महाधिवेशनको प्रक्रियाप्रति सुरुदेखि नै असहमत रहँदै आएका थिए । उनी नियमित महाधिवेशनमार्फत नै पार्टीको नेतृत्व चयन हुनुपर्ने पक्षमा थिए । विशेष महाधिवेशन रोक्ने र दुवै पक्षबीच सहमति कायम गर्ने प्रयास सफल नभएपछि कांग्रेसमा विभाजनको अवस्था सिर्जना भएको उनको समूहको बुझाइ छ ।गौतमका अनुसार कोइराला पक्षले विशेष महाधिवेशनले पार्टीभित्र थप विवाद निम्त्याउने र विभाजनको परिस्थिति सिर्जना गर्ने भन्दै निरन्तर सहमतिको प्रयास गरेको थियो ।‘हामी नियमित महाधिवेशनकै पक्षमा थियौँ । विशेष महाधिवेशन हुनेबित्तिकै पार्टी विभाजनको परिस्थिति आउँछ भन्ने हामीलाई थाहा थियो,’ गौतमले भने, ‘अहिले दुईवटा पार्टी समानान्तर रूपमा बनेका छन् । अदालतले जे फैसला गरे पनि पार्टी विभाजित मानसिकतामा पुगिसकेको छ ।’

एकता अधिवेशनबाटै समाधान खोज्नुपर्ने प्रस्ताव

कोइराला पक्षले अहिले पनि दुवै समूहका नेताहरूसँग पार्टी एकताका लागि संवाद गरिरहेको छ । उनीहरूले एकअर्काविरुद्ध आरोप–प्रत्यारोप र राजनीतिक प्रतिशोधमा उत्रिनुभन्दा एकता अधिवेशनमार्फत विवाद समाधान गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् ।गौतमका अनुसार पार्टीका दुवै पक्षलाई एकताका लागि तयार हुन आग्रह भइरहेको छ ।‘हामी दुवै पक्षका साथीहरूलाई एकता अधिवेशन नगरी उपाय छैन भनिरहेका छौँ,’ उनले भने, ‘एकअर्काको तेजोवध र मानमर्दन गरेर होइन, समग्र कांग्रेस निर्माणलाई लक्ष्य बनाएर अघि बढ्नुपर्छ । तपाईंहरू जुन बाटोमा हिँडिरहनुभएको छ, त्यो बाटो गलत छ, आफूलाई सच्याउनुस् भनिरहेका छौँ ।’

उनका अनुसार एकता अभियानलाई कसरी संस्थागत गर्ने भन्नेबारे पनि छलफल भइरहेको छ । छुट्टै संगठन निर्माण गरेर अघि बढ्ने वा देशभरका नेता तथा कार्यकर्ताबीच संवाद, बहस र अन्तरक्रियामार्फत अभियान सञ्चालन गर्ने भन्ने विषयमा टुंगो लागिसकेको छैन ।‘छठपछि हामी एकता अभियानलाई अघि बढाउँछौँ । त्यसका लागि संगठन बनाएर जाने वा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भइरहेको छ,’ गौतमले भने, ‘विभिन्न तहका साथीहरूसँग सम्पर्क र विचार–विमर्श गरिरहेका छौँ । हामी अब एकता अभियान नै सञ्चालन गरेर समग्र कांग्रेस निर्माणको अभियानमा लाग्छौँ ।’

छठपछि अभियानको स्वरूपबारे छलफल

कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले पनि पार्टी एकताको अभियानलाई देशव्यापी बनाउने विषयमा छलफल भइरहेको पुष्टि गरे । उनका अनुसार कोइरालाले यसअघि पनि पार्टी एकताका लागि निरन्तर पहल गर्दै आएका छन् ।‘पार्टी एकताका लागि डा. शेखर कोइरालाले पहिलेदेखि नै कुरा उठाउँदै आउनुभएको हो । उहाँले पार्टी एकताको अभियानलाई देशव्यापी बनाउने कुरा गर्नुभएको छ,’ थपलियाले भने, ‘तर, अभियान कहिलेदेखि सुरु गर्ने वा कसरी अघि बढाउने भन्नेबारे अहिले कुनै ठोस निर्णय भएको छैन ।’तिहार मनाउन आफ्नो गृहनगर विराटनगर पुगेका कोइराला छठ पर्वपछि काठमाडौं फर्किएसँगै समूहका नेताहरूसँग थप छलफल गर्ने तयारीमा छन् । त्यसपछि अभियानको स्वरूप, कार्यदिशा र सञ्चालन प्रक्रियाबारे निर्णय हुने अपेक्षा गरिएको छ ।

कोइरालालाई साथ दिने नेताहरू को–को ?

पार्टीभित्रको विवादका बीच कोइरालालाई विभिन्न नेताहरूले साथ दिँदै आएका छन् । १४औँ महाधिवेशनबाट सहमहामन्त्रीमा निर्वाचित बद्री पाण्डेसहित बलबहादुर केसी, सञ्जयकुमार गौतम र सरिता प्रसाईं कोइरालासँग नजिक रहेका नेताहरू हुन् ।यद्यपि, कोइरालानिकट अधिकांश नेता संस्थापन पक्षको महाधिवेशन प्रक्रियामा सहभागी भएका थिए भने केही नेता देउवा समूहको गतिविधिमा खुलेका छन् । कोइराला स्वयं र उनका केही निकट नेताहरू भने दुवै पक्षका महाधिवेशन प्रक्रियाबाट अलग रहेका छन् ।यही पृष्ठभूमिमा कोइरालाले अघि सार्न खोजेको एकता अभियानले कस्तो स्वरूप लिन्छ र पार्टीका दुवै पक्षलाई एउटै राजनीतिक तथा सांगठनिक संरचनामा फर्काउन कस्तो भूमिका खेल्छ भन्ने विषय कांग्रेसभित्र चासोको विषय बनेको छ ।

प्रकाशित मिति : २०८३ कार्तिक २८ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।