२०८३ कार्तिक २९ गते आइतवार

दाङमै मुटुको जटिल उपचार, राप्ती प्रतिष्ठानमा एक महिनामै सात अप्रेसन

दाङ,२८ कात्तिक । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुरोगको विशेषज्ञ उपचार सेवा प्रभावकारी बन्दै गएको छ। चालु आर्थिक वर्षको असोज महिनामा मात्रै प्रतिष्ठानमा मुटुका सातवटा जटिल अप्रेसन भएका छन्। प्रतिष्ठानका अनुसार असोज महिनामा १ सय ९७ जना बिरामीले मुटुरोगसम्बन्धी विशेषज्ञ सेवा लिएका छन्। तीमध्ये १ सय ९० जनाले बहिरङ्ग (ओपीडी) सेवा लिएका छन् भने सात जनाको जटिल अप्रेसन गरिएको छ।

प्रतिष्ठानमा कोरोनरी एन्जियोग्राफी र एन्जियोप्लास्टी सेवा सुरु भएपछि मुटुरोगका बिरामीलाई उपचारका लागि बाहिर जानुपर्ने बाध्यता कम हुँदै गएको छ। यसअघि मुटुरोगको उपचारका लागि दाङसहित आसपासका जिल्लाका बिरामी नेपालगञ्ज, बुटवल, काठमाडौं तथा भारतसम्म पुग्नुपर्ने अवस्था थियो। गत वर्षदेखि प्रतिष्ठानमा यो सेवा सुरु भएपछि बिरामीले जिल्लामै विशेषज्ञ उपचार पाउन थालेका हुन्। फिजिसियन तथा मुटुरोग विशेषज्ञ डा. दिनेश उप्रेतीको नेतृत्वमा विशेषज्ञ टोलीले सेवा प्रदान गरिरहेको छ।

प्रतिष्ठानमा विशेषज्ञ चिकित्सकसँगै क्याथ ल्याब र आवश्यक उपकरणसमेत उपलब्ध छन्। मुटुरोगको उपचारलाई थप सहज र सुलभ बनाउन प्रतिष्ठानले विपन्न नागरिक औषधि उपचार कोषमा सूचीकृत हुन निवेदन पठाएको छ। सूचीकृत भएपछि विपन्न बिरामीले प्रतिष्ठानबाटै थप सहुलियत प्राप्त गर्न सक्ने प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम लम्सालले बताउनुभएको छ ।

प्रकाशित मिति : २०८३ कार्तिक २८ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।