एजेन्सी, २८ कात्तिक। अमेरिकामा एयर ट्राफिक कन्ट्रोल सेन्टरहरूको सञ्चार प्रणालीमा गम्भीर प्राविधिक समस्या देखिएपछि देशव्यापी रूपमा लगाइएको हवाई उडान प्रतिबन्ध हटाइएको छ। अमेरिकी सङ्घीय उड्डयन प्रशासन (एफएए) ले करिब चार घण्टापछि प्रतिबन्ध हटाएसँगै अमेरिकी आकाशमा उडान पुनः सञ्चालनको बाटो खुलेको हो।
सन् २००१ को सेप्टेम्बर ११ मा भएको आतङ्कवादी हमलापछि अमेरिकामा पहिलोपटक यति ठूलो स्तरमा देशव्यापी हवाई उडान अवरुद्ध भएको हो। प्राविधिक समस्याका कारण हजारौँ उडान रद्द हुनुका साथै लाखौँ यात्राको योजनामा असर परेको छ।अमेरिकी यातायातमन्त्री सीन डफीले शुक्रबार स्थानीय समयअनुसार राति ८ बजेर १५ मिनेटमा अमेरिकी आकाश पुनः खुला गरिएको जानकारी दिएका छन्। तर, उडान सेवा तत्कालै पुरानै अवस्थामा फर्कन नसक्ने उनको भनाइ छ।ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री डफीले उडान सेवा सामान्य अवस्थामा फर्किन केही समय लाग्ने बताए। उनले भने, ‘प्रक्रिया सुस्त गतिमा अगाडि बढ्नेछ।’
उडानसम्बन्धी विवरण उपलब्ध गराउने वेबसाइट फ्लाइटराडार २४ का अनुसार प्राविधिक अवरोधका कारण ६ हजार ६०० भन्दा बढी उडान रद्द भएका छन् भने ८ हजार ६०० भन्दा बढी उडान ढिलाइमा परेका छन्। यसबाहेक आइतबारका लागि निर्धारित थप १ हजार ५०० उडानसमेत रद्द गरिएका छन्।चार घण्टासम्म देशभर उडान रोकिँदा विभिन्न विमानस्थलमा दशौँ हजार यात्रु अलपत्र परेको यातायातमन्त्री डफीले बताएका छन्। उड्डयन क्षेत्रका विश्लेषकहरूले यसको प्रभाव आगामी केही दिनसम्म कायम रहन सक्ने आकलन गरेका छन्।
सञ्चार प्रणालीमा अत्यधिक भार, उडान रोक्ने निर्णय
मन्त्री डफीका अनुसार शुक्रबार दिउँसो स्थानीय समयअनुसार ३ बजेर ३६ मिनेटदेखि एयर ट्राफिक कन्ट्रोल सेन्टरहरूको राडार तथा सञ्चार प्रणालीमा समस्या देखिन थालेको थियो।महत्त्वपूर्ण तथ्याङ्क आदानप्रदान गर्ने स्विच र राउटरहरूमा अत्यधिक भार परेपछि प्रणालीमा गलत तथा असङ्गत सूचना देखिन थालेको थियो। हवाई सुरक्षामा जोखिम उत्पन्न हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै एफएएले देशभरका उडान रोक्ने निर्णय गरेको थियो।
यद्यपि, समस्याका क्रममा राडार तथा सञ्चार सम्पर्क पूर्ण रूपमा विच्छेद नभएको र आकाशमा रहेका हजारौँ विमानलाई सुरक्षित रूपमा अवतरण गराउन सफल भएको मन्त्री डफीले स्पष्ट पारेका छन्।पुरानो प्रविधि, जीर्ण उपकरण, कमजोर सञ्चार प्रणाली र एयर ट्राफिक कन्ट्रोलरको अभाव झेल्दै आएको अमेरिकी हवाई यातायात व्यवस्थामा यो घटनालाई पछिल्लो गम्भीर सङ्कटका रूपमा हेरिएको छ।
उडान सुचारु भए पनि वायुसेवा कम्पनीको तालिका प्रभावित
एफएएले प्रतिबन्ध हटाएपछि केही प्रमुख वायुसेवा कम्पनीले उडान पुनः सञ्चालन गरेका छन्। तर, सबै उडान तत्काल नियमित हुन नसक्ने भन्दै कम्पनीहरूले यात्रुलाई आफ्नो उडानको अवस्थाबारे निरन्तर जानकारी लिन आग्रह गरेका छन्।डेल्टा एयरलाइन्सले आफ्ना निर्धारित उडानहरू पुनः सञ्चालन गरेको जनाएको छ। कम्पनीले यात्रुलाई मोबाइल एपमार्फत उडानको अवस्था जाँच गर्न आग्रह गर्दै यात्रा योजना परिवर्तनका लागि लचिलो विकल्पसमेत उपलब्ध गराएको छ।
युनाइटेड एयरलाइन्सले शुक्रबार रातिदेखि केही उडान पुनः सञ्चालन गरेको जनाएको छ। यद्यपि, शनिबार पनि उडान प्रभावित हुन सक्ने भन्दै यात्रा छुट पाएका यात्रुलाई आफ्नो तालिका परिवर्तन गर्न सक्ने सुविधा दिएको छ।त्यस्तै, फ्रन्टियर एयरलाइन्सले उडान सेवा सामान्य अवस्थामा फर्काउन काम भइरहेको जनाएको छ। कम्पनीले यात्रुलाई इमेल तथा आधिकारिक माध्यमबाट उडानसम्बन्धी पछिल्लो जानकारी लिन आग्रह गरेको छ।
यता, जेटब्लु एयरवेजले शुक्रबारका बाँकी सबै उडान रद्द गरेको छ। कम्पनीले शनिबार पनि आफ्नो उडान तालिका प्रभावित हुन सक्ने जनाएको छ।देशव्यापी उडान प्रतिबन्ध हटे पनि रद्द भएका उडान, विमान तथा चालक दलको व्यवस्थापन र यात्रुको चापका कारण अमेरिकी हवाई सेवा पूर्ण रूपमा सामान्य हुन अझै केही दिन लाग्न सक्ने देखिएको छ।


























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।