तुलसीपुर, १४ कात्तिक । नेपाली कांग्रेसलाई समयअनुसार रूपान्तरण गर्दै जनताको भावना, आवश्यकता र अपेक्षाअनुसार अघि बढाउनुपर्नेमा नेपाली कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य केशवराज आचार्यले जोड दिनुभएको छ ।
नेपाली कांग्रेस प्रदेशसभा क्षेत्र नं. ३ (क) को आयोजनामा पन्ध्रौँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई पद हस्तान्तरण, बधाई तथा शुभकामना आदानप्रदान गर्ने उद्देश्यले तुलसीपुरमा आयोजित कार्यक्रममा बोल्दै आचार्यले कांग्रेस अब नयाँ सोच, नयाँ दृष्टिकोण र स्पष्ट भिजन तथा मिसनका साथ अघि बढ्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस दाङका जिल्ला सभापति शंकरप्रसाद डाँगीले पनि पार्टीलाई थप एकताबद्ध, व्यवस्थित र जनमुखी बनाउन सबै तहका नेता तथा कार्यकर्ताबीच सहकार्य र समन्वय आवश्यक रहेको धारणा राख्नुभएको थियो । नेपाली कांग्रेस प्रदेशसभा क्षेत्र नं। ३ ९क० का निवर्तमान सभापति देवेन्द्र रिजालको अध्यक्षतामा भएको कार्यक्रममा दंगीशरण गाउँपालिका सभापति टेकबहादुर थापा, प्रदेशसभा क्षेत्र नं. ३ (ख) का सभापति शम्भु गिरी, तुलसीपुर नगर सभापति वीरेन्द्र शाह, महाधिवेशन प्रतिनिधि अनिल कार्की, शान्ता पाण्डे, महासमिति सदस्य अर्चना रेग्मी, जितबहादुर केसी र जगत खड्कालगायत नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमले पार्टीभित्र नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गर्दै संगठनलाई थप गतिशील, एकताबद्ध र जनमुखी बनाउने सन्देश दिएको सहभागीहरूले बताएका थिए ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।