सल्यान, १४ कार्तिक । लगातारको वर्षाका कारण ग्रामीण सडकमा पहिरो खस्ने, सडक भासिने तथा ढुंगा झर्ने जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय सल्यानले जिल्लाका सम्पूर्ण ग्रामीण भित्री कच्ची सडकमा सवारी आवागमन बन्द गर्ने निर्णय गरेको छ। जिल्ला प्रशासन कार्यालय सल्यानले शनिबार सूचना जारी गर्दै आज कात्तिक १४ गते साँझ ५ बजेदेखि कात्तिक १५ गते बिहान ७ बजेसम्म अत्यावश्यकबाहेकका सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाएको हो।
हाल बंगालको खाडीबाट सुरु भएको अर्णव चक्रवात तथा पश्चिमी वायुको प्रभावस्वरूप निरन्तर वर्षा भइरहेको र त्यसका कारण ग्रामीण भित्री कच्ची सडकहरू भासिने, पहिरो खस्ने, ढुंगा झर्ने तथा रुख र विद्युत्का पोल ढल्ने जोखिम बढेको प्रशासनले जनाएको छ। यस्तो अवस्थामा सवारी दुर्घटना हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै यात्रुको सुरक्षा सुनिश्चित गर्न सवारी आवागमन बन्द गर्ने निर्णय गरिएको सूचनामा उल्लेख छ।
प्रशासनका अनुसार उक्त अवधिमा अत्यावश्यकबाहेक अन्य सम्पूर्ण सवारीसाधन पूर्ण रूपमा बन्द रहनेछन्। वर्षाका कारण सडकको अवस्था जोखिमपूर्ण बनेकाले यात्रु तथा सवारीचालकलाई प्रशासनको सूचनाको पालना गर्न र अनावश्यक यात्रा नगर्न आग्रह गरिएको छ। आपत्कालीन अवस्था वा आवश्यक सहयोगका लागि जिल्ला प्रहरी कार्यालय सल्यान, ट्राफिक प्रहरी तथा सशस्त्र प्रहरी बलसँग सम्पर्क गर्न सकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ। वर्षाका कारण हुन सक्ने सम्भावित दुर्घटना न्यूनीकरण तथा मानवीय क्षति रोक्ने उद्देश्यले प्रशासनले यो निर्णय गरेको जनाएको छ।


























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।