काठमाडौं,१३ कात्तिक । नेपालमा ‘अर्नब’ चक्रवातको प्रभावका कारण देशभरको मौसम प्रभावित भएको छ । यसको प्रभावले देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने उच्च हिमाली क्षेत्रमा हिमपात भइरहेको छ । आज दिनभरजसो देशका विभिन्न स्थानमा निरन्तर वर्षा भइरहेको छ । काठमाडौँ उपत्यकासहितका क्षेत्रमा गएरातिदेखि नै पानी पर्ने र रोकिने क्रम जारी छ । अन्य प्रदेशका विभिन्न स्थानमा पनि वर्षा भइरहेको छ ।
मौसमविद्का अनुसार आज राति वर्षा थप बढ्ने सम्भावना छ । देशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ । वर्षाका कारण विभिन्न नदी तथा खोलामा पानीको सतह बढ्नुका साथै पहाडी र तराईका क्षेत्रमा बाढी तथा डुबानको जोखिम बढेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार नारायणी, बागमती, कमला, कन्काई र कोशी नदी तथा आसपासका क्षेत्रमा पानीको सतह उल्लेख्य रूपमा बढ्न सक्ने सम्भावना छ ।
ती नदीका जलाधार क्षेत्रमा भोलि पनि वर्षा हुने र केही स्थानमा आकस्मिक बाढीको मध्यम जोखिम रहने अनुमान गरिएको छ । यसैबीच, सरकारले वर्षाका कारण विभिन्न राजमार्गमा बाढी तथा पहिरोको जोखिम रहेकाले यात्रा गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेको छ । विशेषगरी पहाडी तथा भिरालो भूभाग भएका सडकखण्डमा पहिरो खस्ने, ढुङ्गा झर्ने र सडक भासिने जोखिम रहेको छ ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।