२०८३ कार्तिक १४ गते शनिवार

‘२५ करोडको क्षति पुर्‍याउनेहरूले बुझ्नुपर्छ, रकम नभएर दमकल नआएको होइन’ : मेयर खड्का

तुलसीपुर — तुलसीपुर उपमहानगरपालिकाको सम्पत्तिमा आगजनी गरी करिब २५ करोड रुपैयाँ बराबरको क्षति पुर्‍याउनेहरूले दमकल खरिदमा भइरहेको ढिलाइको वास्तविकता बुझ्नुपर्ने नगर प्रमुख टीकाराम खड्काले बताउनु भएको छ । मेयर खड्काले आफ्नो फेसबुक स्टाटसमा लेख्दै दमकल खरिदका लागि रकम अभाव नभएको तर सार्वजनिक खरिद प्रक्रिया पूरा हुन नसक्दा खरिदमा ढिलाइ भएको स्पष्ट पार्नुभयो ।

उपमहानगरपालिकाले दमकल खरिदका लागि १ करोड २५ लाख रुपैयाँ विनियोजन गरी सार्वजनिक खरिद प्रक्रिया अघि बढाइसकेको जानकारी दिदै दुई पटकसम्म टेन्डर सूचना आह्वान गर्दा पनि रीतपूर्वक ठेक्का सदर हुन नसकेको उहाँको भनाई छ । अब तेस्रो पटक पुनः टेन्डर सूचना आह्वान गर्ने तयारी गरिएको उल्लेख गर्दै खड्काले यसपटक खरिद प्रक्रिया सफल हुने आशा व्यक्त गर्नुभयो ।

‘रकम नभएर दमकल नआएको होइन, दुई पटकअघि टेन्डर सूचना आह्वान गर्दा पनि रीतपूर्वक ठेक्का सदर हुन सकेन। पुनः तेस्रो पटक सूचना गरिँदैछ। आशा गरौँ, अन्तिम पटक हुने नै छ,’ उहाँले फेसबुकमा लेख्नु भएको छ । मेयर खड्काका अनुसार दमकल खरिदका लागि उपमहानगरपालिकाको कार्यालयले गृह मन्त्रालय र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, काठमाडौंलाई समेत अनुरोध पठाएको थियो ।

तर अहिलेसम्म त्यसको सुनुवाइ हुन सकेको छैन। उपमहानगरपालिकाको सम्पत्तिमा आगजनीबाट ठूलो क्षति भएको सन्दर्भमा दमकल खरिदको विषय फेरि चर्चामा आएको छ ।

प्रकाशित मिति : २०८३ कार्तिक १४ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।