२०८३ मङ्सिर २ गते बुधवार

रास्वपाको उम्मेदवार भन्दै स्वघोषणा नगर्न सभापति नेपालीको आग्रह

सल्यान, २ मङ्सिर  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सल्यानका सभापति प्रकाश नेपालीले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै पार्टीको तर्फबाट उम्मेदवार बन्ने भन्दै स्वघोषणा र प्रचारप्रसार नगर्न पार्टीका सदस्य तथा इच्छुक व्यक्तिहरूलाई आग्रह गर्नुभएको छ।

सभापति नेपालीले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पार्टीको उम्मेदवार बन्न निश्चित विधि, मापदण्ड र प्रक्रिया पूरा गर्नुपर्ने स्पष्ट पार्नुभएको हो। पार्टीको आधिकारिक निर्णय र प्रक्रिया पूरा नगरी आफूलाई उम्मेदवारका रूपमा प्रस्तुत गर्नु उचित नहुने उहाँको भनाइ छ।

उहाँका अनुसार रास्वपाले उम्मेदवार छनोटलाई व्यवस्थित, पारदर्शी र योग्यतामा आधारित बनाउन ‘क्यान्डिडेट क्लब’ को व्यवस्था गरेको छ। उक्त क्लबमा नाम दर्ता गराई आवश्यक प्रशिक्षण तथा परीक्षा उत्तीर्ण गरेपछि मात्रै पार्टीको आधिकारिक उम्मेदवार बन्ने प्रक्रिया अघि बढ्नेछ। स्थानीय तह निर्वाचनको चर्चा बढेसँगै सल्यानसहित देशका विभिन्न स्थानमा पार्टीको उम्मेदवार बन्ने भन्दै व्यक्तिगत रूपमा प्रचारप्रसार तथा गतिविधि भइरहेकोप्रति सभापति नेपालीले ध्यानाकर्षण गराउनुभएको छ।

उहाँले पार्टीको विधि र प्रक्रिया पूरा नगरी उम्मेदवार भएको दाबी गर्ने व्यक्तिका गतिविधिबाट सचेत रहन आम नागरिकलाई समेत आग्रह गर्नुभएको छ। व्यक्तिगत इच्छा र आकाङ्क्षाभन्दा पार्टीको नीति, विधि, प्रक्रिया र आधिकारिक निर्णय महत्त्वपूर्ण हुने उल्लेख गर्दै सभापति नेपालीले पार्टीको निर्णय नै अन्तिम हुने सन्देश दिनुभएको छ।

प्रकाशित मिति : २०८३ मङ्सिर २ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।