२०८३ मङ्सिर २ गते बुधवार

गुल्मीमा मृत भेटिएका प्रहरी निरीक्षक केसीको दाङमा दाहसंस्कार गरिने

फोटो फाईल

दाङ, २ मंसीर । गुल्मीमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) पर्वतकुमार केसी मृत फेला परेका छन् । आफ्नै निवासको कोठामा केसी मृत फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय गुल्मीको अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा कार्यरत ५२ वर्षीय केसी मंगलबार बिहान कार्यालय परिसरभित्र रहेको प्रहरी अधिकृत निवासको भुईंतलाको कोठामा अचेत अवस्थामा फेला परेका थिए । प्रहरीका अनुसार हिजो मंगलवार बिहान साढे ९ बजेसम्म पनि नउठेपछि सहकर्मीले कोठाको ढोका ढकढक्याएका थिए । ढोकाभित्रबाट चुकुल लगाएर बन्द गरिएको र झ्यालसमेत बन्द थियो ।

झ्यालको लक तोडेर भित्र प्रवेश गर्दा उनी ओछ्यानमै अचेत अवस्थामा भेटिएका थिए । तत्काल जिल्ला अस्पताल तम्घास पुर्‍याइएका केसीलाई चिकित्सकले बिहान ११ बजेर ५ मिनेटमा मृत घोषणा गरेको प्रहरीले बताएको छ । घटनापछि मृतकका दाजु विनोदकुमार केसीले ज्यानसम्बन्धी कसुरमा जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक वीरेन्द्र विश्वकर्माले बताउनुभयो । घटनास्थल तथा शव परीक्षणसम्बन्धी प्रारम्भिक अनुसन्धान पूरा गरी शव परिवारको जिम्मा लगाइएको जिल्ला उहाले जानकारी दिनुभयो । केसीको दाङको घोराही उपमहानगरपालिका १०, नारायणपुरस्थित दुन्द्राघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ मङ्सिर २ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।