२०८३ मङ्सिर १ गते मङ्गलवार

अनलाइनमा सामान देखाएर ठगीको प्रयास, पाँच सय रुपैयाँ गुमाएका तुलसीपुरका एक व्यक्ति ठूलो रकमबाट जोगिए

दाङ, ३० कात्तिक । सामाजिक सञ्जालमा आकर्षक सामानको तस्बिर र भिडियो देखाएर अनलाइन मार्फत व्यापार गर्ने नाममा ठगी गर्ने प्रवृत्ति बढ्दै गएको छ। यस्तै अनलाइन सपिङ गर्ने क्रममा दाङको तुलसीपुरका एक व्यक्ति ठगीएका छन । तर समयमै शंका लागेपछि उनी ठूलो रकम गुमाउनबाट जोगिएका छन्। पीडितका अनुसार टिकटकमा माया कलेक्सन र ह्वाट्सएपमा प्रिती कलेक्सन नामबाट कुर्ती सेट लगायतका सामग्री देखाएर उनलाई सामान खरिद गर्न आकर्षित गरिएको थियो। अनलाइनमा देखाइएको कुर्ती सेट मन परेपछि अर्डर गर्ने निर्णय गरेको उहाले तुलसीपुर खबरडटकम संग बताउनुभयो ।

ह्वाट्सएपमा रहेको ९७१६५०७९६० नम्बरमा सम्पर्क गर्दा आफूलाई पोखराको व्यापारी बताउने व्यक्तिले अर्डर गरेको भोलिपल्टै सामान आइपुग्ने आश्वासन दिएका थिए । तर सामान अर्डर गर्न जम्मा मूल्यको ५० प्रतिशत अग्रिम भुक्तानी गर्नुपर्ने सर्त राखियो। सोही अनुसार पीडितले उक्त व्यक्तिले पठाएको क्यूआर कोडमार्फत खल्ती सेवामा रहेको ९८२६४१९१६३ नम्बरमा मोबाइल बैंकिङबाट पाँच सय रुपैयाँ अग्रिम भुक्तानी गरेको पिडितको भनाई छ । भुक्तानी गरेको स्क्रिनसट ह्वाट्सएपमा पठाएपछि उताबाट रकम प्राप्त नभएको भन्दै बैंक स्टेटमेन्टसमेत मागियो। पीडितले विश्वास गरेर स्टेटमेन्ट पनि पठाइदिएको बताउनुभयो ।

त्यसपछि भने ठगीको नयाँ तरिका अपनाइएको पीडितको भनाइ छ। पिडितलाई तपाईले पठाएको पैसा सो भएको छैन , त्यसका लागी रकम फिर्ता गर्न रिफन्ड रिपोर्ट क्यूआर गर्नुपर्ने भन्दै नरेश कुमार यादवको नाममा रहेको प्रोग्रेसिभ फाइनान्स लिमिटेडको क्यूआर कोड पठाइयो। उक्त क्यूआर स्क्यान गर्दा रकम फिर्ता हुने नभई खाताबाट थप पैसा ट्रान्सफर हुन सक्ने आशंका लागेपछि पिडितले प्रक्रिया बीचमै रद्द गरेको उहाले बताउनुभयो । त्यसपछि पीडितले सामान पठाउन वा अग्रिम रकम फिर्ता गर्न आग्रह गर्दै आफू ठगीमा पर्न लागेको जस्तो महसुस भएको बताउनुभयो ।

तर, उताबाट आफूहरू ठगी गर्ने व्यापारी नभएको दाबी गर्दै पुनः पिन नम्बर थिच्न आग्रह गरिएको थियो। शंका झन् बढेपछि आफुले त्यसो गर्न अस्वीकार गर्दै आफुले दिएको पाँच सय फिर्ता गर्न अथवा अडर अनुसार समान पठाउन आग्रह गरेको बताउनुभयो । तर अनलाईनवाला सम्पर्क व्यक्तिले आफु काम गर्ने कर्मचारी भएको बताउदै साहुजीलाई सोधेर सम्पर्क गर्छु भन्दै फोन राख्यो, त्यसपछि न फोन गर्छ, न मैले गरेको फोन नै उठाउँछ, पीडितले भन्नुभयो, यो त ठगी गर्ने तरिका रहेछ। धन्न समयमै शंका लाग्यो र ठूलो रकम गुमाउनबाट जोगिएँ। अब अनलाइनमा सामान किन्दा जो कोहिले पनि निकै ख्याल गर्नुपर्ने रहेछ।

अहिले सामान बिक्री गर्ने भनिएका दुवै सामाजिक सञ्जालका नाम र उल्लेखित मोबाइल नम्बरमा सम्पर्क हुन सकेको छैन। यस विषयमा जिल्ला प्रहरी कार्यालय कास्कीसँग बुझ्दा कार्यालयमा अनलाइन ठगीसम्बन्धी उजुरीहरू आउने गरेको र यस्ता घटनाबारे अनुसन्धान हुने गरेको प्रहरीले बताएको छ । प्रहरीले सामाजिक सञ्जालमा देखिएका विज्ञापन र आकर्षक अफरकै भरमा विश्वास नगर्न, अपरिचित व्यक्तिले पठाएका क्यूआर कोड स्क्यान नगर्न तथा रकम फिर्ता गर्ने बहानामा पिन, ओटीपी वा बैंकिङ विवरण मागेमा नदिन सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रकाशित मिति : २०८३ कार्तिक ३० गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।