२०८३ मङ्सिर १ गते मङ्गलवार

दाङको कोइलाबास भन्सारबाट ४१ लाख मात्र राजस्व सङ्कलन

दाङ,१ मंसिर । दाङको कोइलाबास भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ४१ लाख रुपियाँ मात्रै सङ्कलन गरेको छ । भन्सार कार्यालयले आर्थिक वर्ष २०८३/८४ को साउनदेखि असोजसम्म ४४ लाख रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकामा ४१ लाख रुपियाँ मात्रै सङ्कलन गरेको हो । भन्सार कार्यालयका प्रमुख लोकबहादुर विष्टका अनुसार नेपाल–भारत सीमानाकामा आवतजावत गर्ने सवारीसाधनको सङ्ख्या घट्दा राजस्व सङ्कलन प्रभावित भएको छ । कोइलाबास भन्सारको प्रमुख राजस्व स्रोत भारतीय सवारीसाधनको अस्थायी पैठारीबापत प्राप्त हुने शुल्क हो ।

कार्यालयको तथ्याङ्कअनुसार साउन महिनामा १३ लाख रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा ११ लाख रुपियाँ उठेको थियो । त्यस्तै, भदौमा १४ लाख ८९ हजार रुपियाँ लक्ष्य रहेकामा आठ लाख ४० हजार र असोजमा १६ लाख रुपियाँ लक्ष्य रहेकामा आठ लाख ५१ हजार रुपियाँ मात्रै राजस्व सङ्कलन भएको थियो ।

यस अवधिमा मुद्दा लिलामीबाट समेत १३ लाख रुपियाँ राजस्व प्राप्त भएको कार्यालयले जनाएको छ । कोइलाबास भन्सार हुँदै भारतबाट नेपाल प्रवेश गर्ने चारपाङ्ग्रे सवारीसाधनबाट प्रतिदिन छ सय रुपियाँ र मोटरसाइकलबाट दुई सय रुपियाँ राजस्व लिने व्यवस्था छ । कोइलाबासस्थित रामजानकी मन्दिर, प्युठानको स्वर्गद्वारी मन्दिर र दाङको चौघेरा मन्दिरलगायत धार्मिक तथा पर्यटकीय स्थलमा आउने भारतीय नागरिकका सवारीसाधनबाट समेत भन्सारले राजस्व सङ्कलन गर्दै आएको छ ।

प्रकाशित मिति : २०८३ मङ्सिर १ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।