दाङ,१ मंसिर । दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरी घोराहीमा सञ्चालन गरिएको सुपथ मूल्य पसलबाट ४९ लाख ६८ हजार चार सय रुपियाँभन्दा बढीको नुन र चिनी बिक्री भएको छ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड शाखा कार्यालय घोराहीले चाडपर्वलाई लक्षित गरी गत असोज १ गतेदेखि कात्तिक २० गतेसम्म सञ्चालन गरेको सुपथ मूल्य पसलबाट उक्त रकम बराबरको नुन र चिनी बिक्री भएको हो । करिब डेढ महिनाको अवधिमा आठ हजार सात सय ६१ जना उपभोक्ताले सुपथ मूल्य पसलबाट ४३ हजार तीन सय केजी चिनी र २६ हजार छ सय केजी नुन खरिद गरेको शाखा प्रमुख रामबाबुप्रसाद गुप्ताले जानकारी दिनुभयो ।
शाखा प्रमुख गुप्ताका अनुसार सुपथ मूल्य पसलबाट उपभोक्तालाई प्रतिकेजी चिनी एक सय रुपियाँ र नुन २४ रुपियाँका दरले बिक्री गरिएको थियो । बजार मूल्यको तुलनामा सुपथ मूल्य पसलमा चिनी प्रतिकेजी ४० रुपियाँ र नुन प्रतिकेजी छ रुपियाँ सस्तोमा उपलब्ध गराइएको थियो । बजारमा चिनी प्रतिकेजी एक सय ४० रुपियाँ र नुन ३० रुपियाँ पर्ने गरेको छ । बजार मूल्यभन्दा सस्तोमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराइएपछि चाडपर्वको समयमा उपभोक्तालाई राहत पुगेको छ ।।



टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।