तुलसीपुर, १ मंसिर । दाङको तुलसीपुर उपमहानगरपालिका–३ सातबासमा खुला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ।
नव ज्योति सांस्कृतिक युवा क्लबको २४औँ वार्षिकोत्सव तथा हरिबोधनी एकादशी धार्मिक मेला–२०८३ को अवसर पारेर प्रतियोगिता सञ्चालन गर्न लागिएको हो। आयोजकका अनुसार प्रतियोगिता आगामी मंसिर २ र ३ गते दुई दिनसम्म चल्नेछ।प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोलीलाई नगद पुरस्कार प्रदान गरिनेछ। जसअनुसार प्रथम हुने टोलीले २५ हजार, द्वितीयले १५ हजार र तृतीय हुने टोलीले १० हजार रुपैयाँ प्राप्त गर्नेछन्।
प्रतियोगितामा सहभागी हुन चाहने टोलीले २ हजार ५०० रुपैयाँ दर्ता शुल्क बुझाउनुपर्नेछ। टोली दर्ताका लागि मंसिर २ गते बिहान ७ बजेसम्मको समयसीमा निर्धारण गरिएको आयोजकले जनाएको छ।स्थानीय युवाको खेल प्रतिभालाई प्रोत्साहन गर्ने, खेलकुद गतिविधि विस्तार गर्ने तथा भलिबलप्रति आकर्षण बढाउने लक्ष्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको क्लबले जनाएको छ।
यसैबीच, मेला तथा वार्षिकोत्सवको अवसरमा मंसिर ४ गते विशेष सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिने भएको छ। कार्यक्रममा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको सांगीतिक प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ।प्रतियोगितासम्बन्धी थप जानकारी लिन क्लबका अध्यक्ष धनराज रोका तथा खेल संयोजक अनिल परियारसँग सम्पर्क गर्न सकिने जनाइएको छ।



टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।