तुलसीपुर २ कार्तिक । दाङको तुलसीपुरस्थित गोरखा माध्यमिक विद्यालयले तेस्रो लुम्बिनी प्रदेशस्तरीय कराते च्याम्पियनसिपको उपाधि जित्दै ऐतिहासिक सफलता हासिल गरेको छ। बुद्ध शक्ति कराते डोजोको आयोजनामा सम्पन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै गोरखा माविले उपाधिसहित ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको हो।
लुम्बिनी प्रदेशका विभिन्न विद्यालय तथा डोजोबाट करिब ३०० खेलाडी सहभागी प्रतियोगितामा गोरखा माध्यमिक विद्यालय, तुलसीपुरबाट २३ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए। तीमध्ये २२ जना खेलाडीले स्वर्ण पदक जित्न सफल भएका छन्। खेलाडीहरूको उत्कृष्ट प्रदर्शन, निरन्तर मेहनत, अनुशासन र समर्पणले विद्यालयलाई प्रदेशस्तरमै उत्कृष्ट सफलता दिलाएको हो। प्रतियोगितामा सहभागी खेलाडीमध्ये अधिकांशले स्वर्ण पदक जित्नु विद्यालयका लागि गौरवको विषय बनेको छ।
असोज ३०, ३१ र कात्तिक १ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा गोरखा माविका खेलाडीहरूले देखाएको प्रदर्शनले विद्यालयको खेलकुद क्षेत्रमा रहेको सम्भावना र क्षमतालाई उजागर गरेको छ। एकै प्रतियोगितामा २३ खेलाडी सहभागी गराएर २२ स्वर्ण पदक जित्नु विद्यालयको खेलकुद उपलब्धिका दृष्टिले उल्लेखनीय सफलता हो। यस उपलब्धिले विद्यार्थीमा खेलप्रतिको आकर्षण बढाउनुका साथै कराते खेलको विकास र प्रवर्द्धनमा समेत सकारात्मक सन्देश दिएको छ।
गोरखा माध्यमिक विद्यालयको यस सफलताले तुलसीपुरसहित समग्र दाङ जिल्लाकै खेलकुद क्षेत्रलाई उत्साहित बनाएको छ। मेहनत, अनुशासन र निरन्तर अभ्यासबाट प्रदेशस्तरमा उत्कृष्ट नतिजा हासिल गर्न सकिन्छ भन्ने उदाहरणसमेत विद्यालयका खेलाडीहरूले प्रस्तुत गरेका छन्।




















टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।