२०८३ भाद्र २८ गते आइतवार

गिद्ध संरक्षणमा कलम चलाएको भन्दै नेपाल टेलिभिजनका दाङ संवाददाता डाँगी सम्मानित

दाङ, २७ भदौ । गिद्ध संरक्षण तथा जैविक विविधताको संरक्षणमा सञ्चारमाध्यममार्फत महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै नेपाल टेलिभिजनका दाङ संवाददाता विकास डाँगी सम्मानित हुनु भएको छ।

१८औँ अन्तर्राष्ट्रिय गिद्ध संरक्षण दिवसका अवसरमा पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्र, दाङले नेपाल पन्छी संरक्षण संघको सहयोगमा आयोजना गरेको ‘गिद्ध संरक्षणका लागि सञ्चारकर्मीहरूको भूमिका’ विषयक अन्तरक्रिया तथा सम्मान कार्यक्रममा डाँगीलाई सम्मान गरिएको हो।नेपालमा गिद्ध संरक्षणसँगै समग्र जैविक विविधताको महत्व र संरक्षणको आवश्यकतालाई समाचार तथा सामग्रीमार्फत जनस्तरसम्म पुर्‍याउन भूमिका खेलेको भन्दै आयोजक संस्थाले डाँगीलाई सम्मान गरेको हो ।

विशेषगरी नेपाल टेलिभिजनमार्फत गिद्ध संरक्षण, जैविक विविधता र वातावरणीय संरक्षणसँग सम्बन्धित विषयलाई प्राथमिकताका साथ समाचार सम्प्रेषण गरी संरक्षण अभियानप्रति जनचेतना अभिवृद्धिमा योगदान पुर्‍याएको आयोजकको भनाइ छ। कार्यक्रममा गिद्ध संरक्षण अभियानमा सञ्चारकर्मीको भूमिका, जैविक विविधताको संरक्षण तथा वातावरणीय सन्तुलन कायम राख्न सञ्चारमाध्यमले निर्वाह गर्नुपर्ने जिम्मेवारीका विषयमा अन्तरक्रिया गरिएको थियो।

पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्रका अध्यक्ष डिल्लीबहादुर रावतको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ वन अधिकृत खिमबहादुर केसीको प्रमुख आतिथ्यता तथा नेपाल पन्छी संरक्षण संघका कार्यक्रम परियोजना अधिकृत भुपाल नेपालीको विशिष्ट आतिथ्यता रहेको थियो। नेपालमा गिद्ध संरक्षणका लागि सरकारले पनि विभिन्न नीतिगत कदम चाल्दै आएको छ। गिद्धका लागि अत्यन्तै विषालु मानिने डाइक्लोफेनेक औषधिका कारण गिद्धको संख्या तीव्र रूपमा घटेपछि सरकारले २०६३ जेठ २३ गतेदेखि पशु उपचारमा प्रयोग हुने उक्त औषधिको प्रयोग, उत्पादन, आयात तथा बिक्री–वितरणमा प्रतिबन्ध लगाएको थियो।

मरेका पशुको सिनो खाएर वातावरण सफा गर्ने प्राकृतिक सफाइकर्मीका रूपमा चिनिने गिद्धको संरक्षण जैविक विविधता र पारिस्थितिक सन्तुलनका लागि महत्वपूर्ण मानिन्छ। गिद्ध संरक्षणका लागि राज्य, संरक्षणकर्मी र सञ्चारमाध्यमबीचको सहकार्य अझ प्रभावकारी बनाउनुपर्नेमा कार्यक्रममा जोड दिइएको थियो।

प्रकाशित मिति : २०८३ भाद्र २७ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।