तुलसीपुर,११ साउन । लुम्बिनी प्रदेशमा आत्महत्याको दर ह्वात्तै बढेको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरले सार्वजनिक गरेको वार्षिक तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/०८३ मा लुम्बिनी प्रदेशमा आत्महत्यासम्बन्धी १ हजार ३ सय ७६ घटना भएका छन् । तीमध्ये सबैभन्दा धेरै घटना असार महिनामा भएका छन् भने जिल्लागतरूपमा रुपन्देहीपछि दाङ दोस्रो बढी प्रभावित जिल्लाका रुपमा देखिएको छ । तथ्यांकअनुसार असार महिनामा मात्रै १ सय ६६ घटनामा १ सय ६७ जनाले आत्महत्या गरेका छन् । वैशाखमा १ सय ३४ र जेठमा १ सय १९ जनाले आत्महत्या गरेकोमा असारमा यो संख्या एकाएक बढेर १ सय ६७ पुगेको हो । एक महिनाको अवधिमै ४८ जना बढी आत्महत्या गरेको तथ्यांकले वर्षको अन्त्यतिर मानसिक स्वास्थ्यसँग सम्बन्धित चुनौती थप गम्भीर बनेको संकेत गरेको छ ।
महिनागत विवरण हेर्दा साउनदेखि चैतसम्म आत्महत्याको संख्या तुलनात्मकरुपमा उतारचढावमा रहे पनि वैशाखबाट पुनः बृद्धि शुरु भएको देखिन्छ । विशेषगरी असारमा सबैभन्दा धेरै घटना हुनुले आर्थिक दबाब, पारिवारिक तनाव तथा अन्य सामाजिक–मनोवैज्ञानिक कारणहरुको थप अध्ययन आवश्यक रहेको संकेत गर्छ । आत्महत्याका माध्यममध्ये झुण्डिएर आत्महत्या गर्ने प्रवृत्ति अत्यधिक देखिएको छ । वर्षभरिमा झुण्डिएर आत्महत्या गरेका १ हजार १ सय ५४ घटना दर्ता भएका छन्, जुन कुल घटनाको ठूलो हिस्सा हो । असार महिनामा मात्रै यसरी १ सय ४० जनाले ज्यान गुमाएका छन् । वैशाखमा १ सय २०, कात्तिकमा १ सय ८ तथा चैतमा ९९ जनाले झुण्डिएर आत्महत्या गरेका थिए । त्यसपछि दोस्रो धेरै प्रयोग गरिएको माध्यम विष सेवन रहेको तथ्यांकले देखाउँछ । विष सेवन गरी १ सय ७३ घटना भएका छन् । असारमा २०, असोज र कात्तिकमा १७÷१७ तथा साउनमा १६ घटना भएका छन् । आगो लगाएर, औजार वा हातहतियार प्रयोग गरेर तथा हाम फालेर गरिएका आत्महत्याका घटना भने निकै कम छन् ।
गोली लागेर, पानीमा डुबेर तथा करेन्ट लगाएर आत्महत्या गरिएका घटना वर्षभर दर्ता भएका छैनन् । प्रहरीको तथ्यांकले आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा ३८ वटा मुद्दासमेत दर्ता भएको देखाएको छ । यस्ता घटनाहरु विभिन्न महिनामा छिटपुटरुपमा देखिए पनि कात्तिक र जेठमा तुलनात्मकरुपमा बढी रहेका छन् ।जिल्लागत तथ्यांकले पनि केही जिल्लामा समस्या बढी गम्भीर रहेको देखाउँछ । रुपन्देहीमा १ सय ९३ जनाले झुण्डिएर आत्महत्या गरेका छन् भने दाङमा १ सय ८२ घटना दर्ता भएका छन् । त्यसपछि बर्दियामा १ सय ३८, कपिलवस्तुमा १ सय ३५ र बाँकेमा १ सय १८ घटना भएका छन् । विष सेवन गरी आत्महत्या गर्ने घटनामा भने दाङ सबैभन्दा अगाडि देखिएको छ । दाङमा ३८, कपिलवस्तुमा ३१ र रुपन्देहीमा २७ घटना दर्ता भएका छन् । आत्महत्या गर्न दुरुत्साहन गरेको घटनामा बाँकेमा ९, दाङ र बर्दियामा ७÷७ तथा रुपन्देहीमा ५ मुद्दा दर्ता भएका छन् । आगो लगाएर आत्महत्या गर्ने घटना रुपन्देहीमा २ तथा दाङ र प्युठानमा १÷१ रहेका छन् । औजार वा हातहतियार प्रयोग गरिएका अधिकांश घटना पाल्पामा केन्द्रित देखिएका छन् भने हाम फालेर आत्महत्या गर्ने घटना नवलपरासी, गुल्मी र प्युठानमा एक–एकवटा मात्र दर्ता भएका छन् । एकराज भण्डारीले खबर लेख्नु भएको छ ।





