२०८३ असार १८ गते बिहिवार

खानेपानीको व्यवसायिक योजना निर्माण तथा कार्यान्वयन सम्बन्धी कार्याशाला गोष्ठि सम्पन्न

काठमाण्डौ, १८ असार । खानेपानीको व्यवसायिक योजना निर्माण, कार्यान्वयन तथा सञ्चालन कार्यविधि सम्बन्धी २ दिने अभिमुखीकरण कार्यशाला गोष्ठी काठमाण्डौमा सम्पन्न भएको छ । दुई दिनसम्म संचालन भएको गोष्ठिमा देशका विभिन्न २० वटा खानेपानी उपभोक्ता संस्थाका पदाधिकारी तथा व्यवस्थापकहरुको सहभागिता रहेको थियो ।

गोष्ठि अवधिभर खानेपानीको व्यवसायिक योजना, निर्माण, सेवा विस्तार, उपभोक्ता समितिको कार्य संचालन, व्यवस्थापन, वित्तिय व्यवस्थापन, कामको जिम्मेवारी तथा बाँडफाड लगायतका विषयमा जानकारी दिइएको थियो । गोष्ठिमा नगर विकास कोषका आयोजना मूल्याङ्न महाशाखा प्रमुख सुवासराज पन्थ, उपप्रवन्धक देवान राई, इन्जिनियर योगराज शर्मा, कमल मरासिनीले प्रशिक्षण दिनुभएको थियो ।

गोष्ठिको समापन अवसरमा बोल्दै राष्ट्रिय साना शहरी खानेपानी महासंघका अध्यक्ष खेमराज वलीले तालिमलाई उपलब्धीमूलक बनाउन उपभोक्ता समितिलाई आग्रह गर्नुभयो । गोष्ठिमा सिकेका कुरालाई आ–आफ्ना खानेपानी आयोजनामा लागु गर्नुपर्ने बताउँदै अध्यक्ष वलीले तालिम कति उपलब्धी भयो भन्ने विषयमा पनि त्यसको अनुगमण गरिने बताउनुभयो ।

उपभोक्ता समितिको क्षेमता अभिवृद्धिका लागि नगर विकास कोषले ठूलो लगानी गरेको बताउँदै यसलाई आगामी दिनमा पनि निरन्तरता दिन अध्यक्ष वलीले आग्रह समेत गर्नुभयो । नगर विकास कोषका कार्यकारी निर्देशक राजेश कुमार भोछिभोयोको अध्यक्षतामा कार्यक्रम भएको थियो । गोष्ठिको सहजीकरण कोषका इन्जिनियर राजेश सिग्देलले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८३ असार १८ गते बिहिवार
प्रतिक्रिया