२०८३ साउन ११ गते सोमवार

दङ्गाली कम्युनिस्ट आन्दोलनका धरोहर शोभाराम बस्नेतप्रति मुख्यमन्त्री आचार्यद्वारा श्रद्धाञ्जली अर्पण

तुलसीपुर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा एमालेका केन्द्रीय सदस्य चेतनारायण आचार्यले नेकपा एमालेका पूर्व केन्द्रीय सल्लाहकार समितिका सदस्य तथा दंगाली कम्युनिस्ट आन्दोलनका अग्रज नेता शोभाराम बस्नेतप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

तुलसीपुरस्थित नेकपा एमाले पार्टी कार्यालयमा पुगेर मुख्यमन्त्री आचार्यले बस्नेतको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभएको हो । उहाँले बस्नेतले दाङको कम्युनिस्ट आन्दोलनलाई स्थापित र सुदृढ बनाउन पु¥याउनुभएको योगदान अविस्मरणीय रहेको बताउँदै उहाँप्रति उच्च सम्मान व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री आचार्यले बस्नेत निष्ठा, त्याग र समर्पणका प्रतीक नेता भएको उल्लेख गर्दै उहाँको निधनले दाङको सामाजिक, सांस्कृतिक तथा राजनीतिक आन्दोलनसँगै नेकपा एमालेले अनुभवी अभिभावक गुमाएको बताउनुभयो ।

लामो समयदेखि विभिन्न रोगबाट पीडित बस्नेतको उपचारका क्रममा गएराति निधन भएको हो । उहाँ दाङको कम्युनिस्ट आन्दोलनका अग्रज व्यक्तित्वका रूपमा परिचित हुनुहुन्थ्यो । पार्टी संगठन निर्माण, विस्तार तथा नयाँ पुस्तालाई कम्युनिस्ट आन्दोलनमा आबद्ध गराउन उहाँले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको स्मरण गरिएको छ ।

श्रद्धाञ्जली कार्यक्रमपछि बस्नेतको पार्थिव शरीरलाई शीतलपुर घाट लगेर अन्त्येष्टि गरिएको थियो । श्रद्धाञ्जली अर्पणमा पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०८३ साउन ११ गते सोमवार
प्रतिक्रिया