२०८३ मङ्सिर ९ गते बुधवार

दाङमा विकास बजेट खर्च सुस्त

दाङ,९ मंसिर । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा जिल्लामा विकास बजेट खर्चको गति निकै सुस्त देखिएको छ । चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्म संघीय सरकारतर्फको आठ दशमलव ४१ प्रतिशत र प्रदेश सरकारतर्फको पाँच दशमलव १० प्रतिशत मात्रै पूँजीगत बजेट खर्च भएको छ । जिल्लामा संघतर्फको पूँजीगतमा रहेको चार अर्ब ७८ करोड ३० लाख ४१ हजार बजेटमा ४० करोड २१ लाख ९९ हजार छ सय ६४ रुपैयाँ ८७ पैसामात्रै खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय दाङले जानकारी दिएको छ । संघको चालुतर्फ जिल्लामा २५ अर्ब ४३ करोड ३२ लाख १७ हजार एक सय ९१ रुपैयाँ बजेट रहेकोमा नौ अर्ब ८७ करोड ५९ लाख ११ हजार ४० रुपैयाँ ७१ पैसा खर्च भएको छ । यो कुल चालु बजेटको ३८ दशमलव ८३ प्रतिशत हो ।

प्रदेश सरकारतर्फको विकास बजेट खर्चको अवस्था संघको जति पनि छैन । प्रदेशतर्फ पूँजीगत तर्फको दुई अर्ब ४९ करोड २७ लाख ६४ हजार बजेटमा १२ करोड ७१ लाख ९१ हजार सात सय ३६ रुपैयाँ ३० पैसा मात्रै खर्च भएको छ । जुन खर्च कुल पूँजीगत बजेटको पाँच दशमलव १० प्रतिशत मात्रै हो । प्रदेशको चालुतर्फ ७४ करोड ८७ लाख ४७ हजार बजेटमा १३ करोड ४३ लाख ५७ हजार सात सय १३ रुपैयाँ ८८ पैसा खर्च भएको छ । जुन खर्च कुल चालु बजेटको १७ दशमलब ९७ प्रतिशत हो ।

पहिलो चौमासिक सकिदासमेत जिल्लामा विकास निर्माणका कामले अपेक्षित गति लिन सकेका छैनन् । असोज महिनासम्म खरिद प्रक्रिया सकेर योजनाहरूको ठेक्का लगाइसक्नुपर्ने कानुनी व्यवस्था छ । अहिलेसम्म कतिपय विकासे कार्यालयहरूले ठेक्काको सूचना समेत निकालेको देखिदैन । प्रदेशका विकासे कार्यालयको अवस्था पनि उस्तै छ ।

आर्थिक वर्षको शुरुवातमा काम नगर्ने र आर्थिक वर्षको अन्त्यमा आएर विकास निर्माणको काम गर्ने विगतका वर्षको पुनरावृत्ति हरेक वर्ष देखिने गरेको छ । आर्थिक वर्षको अन्तिम समयमा गएर योजना सम्झौता गरेर हतारमा काम गर्दा कामसमेत गुणस्तरहीन हुने गरेको गुनासो समेत आउने गरेको छ । संघीय सरकारले जेठ १५ मा प्रदेश सरकारले असार १ र स्थानीय तहहरूले असार १० भित्र बजेट ल्याउने संवैधानिकरूपमा नै व्यवस्था गरिएको छ । असोजभित्रै ठेक्का लगाइसक्न समयमै बजेट आउने गरे पनि कार्यालयले समयमै ठेक्का नलगाउँदा अधिकांश योजना आर्थिक वर्षको अन्त्यमा हुने र बजेट खर्च त्यही समयमा बढी देखिने गरेको छ । सन्तोष खनालले समचार लेख्नुभएको छ ।

प्रकाशित मिति : २०८३ मङ्सिर ९ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।