२०८३ असार २४ गते बुधवार

तुलसीपुरमा जडिबुटी तथा गैह्रकाष्ठ प्रशोधन–बजारीकरण तालिम सम्पन्न

तुलसीपुर,२४ असार दाङ । जडिबुटी तथा गैह्रकाष्ठ वन पैदावारको प्रशोधन तथा बजारीकरण सम्बन्धी एकदिने तालिम दाङको तुलसीपुरमा सम्पन्न भएको छ । तालिमका वक्ताहरूले कानुनी जटिलताका कारण जडिबुटीको उत्पादन, प्रशोधन, संकलन तथा बजारीकरणमा समस्या रहेको बताएका छन् । जडिबुटी तथा गैह्रकाष्ठ वन पैदावार सरकारी प्राथमिकतामा पर्न नसक्दा यस क्षेत्रको अपेक्षित विकास हुन नसकेको उनिहरुले बताए ।

सहभागीहरूले नेपालमा जडिबुटी उत्पादनको पर्याप्त सम्भावना हुँदाहुँदै पनि व्यावसायिक खेती विस्तार हुन नसक्दा स्वदेशमै उत्पादन गर्न सकिने जडिबुटी उच्च मूल्यमा आयात गर्नुपर्ने अवस्था सिर्जना भएको बताए । दाङमा चिउरी, हर्रो, बर्रो, टिमुर, लहरे गुर्जो, गनेगुर्जो, अमला र कुरिलोलगायतका जडिबुटीको व्यावसायिक उत्पादन तथा बजारीकरणको प्रशस्त सम्भावना रहेको उनिहरुको भनाई छ ।
डिभिजन वन कार्यालय दाङका डिभिजनल वन अधिकृत वेसिन्द्रराज सुवेदीको अध्यक्षतामा सम्पन्न तालिमको उद्घाटन वन महासंघ दाङका सहसचिव भूपबहादुर केसी र रेडियो प्रकृति एफएमका स्टेशन म्यानेजर ओपेन्द्र बस्नेतले संयुक्त रूपमा गर्नुभएको थियो।

तालिममा विभिन्न सामुदायिक वन उपभोक्ता समूहका ४० जनाको सहभागिता रहेको थियो । कार्यक्रममा तुलसीपुर सब–डिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत खिमबहादुर खड्काले वन ऐन, नीतिगत व्यवस्था, जडिबुटीको सम्भावना, प्रशोधन, बजारीकरण तथा यस क्षेत्रका चुनौतीका विषयमा प्रशिक्षण दिनुभएको थियो । डिभिजन वन कार्यालय दाङको आयोजना तथा तुलसीपुुर सव डिभिजन वन कार्यालयको सहजीकरणमा तलिम सम्पन्न भएको हो ।

प्रकाशित मिति : २०८३ असार २४ गते बुधवार
प्रतिक्रिया