२०८३ साउन ४ गते सोमवार

अमिलिया सामुदायिक वनमा १ हजार ५ सय मौवाका बिरुवा रोपियो

तुलसीपुर, ३ साउन। दाङको अमिलिया सामुदायिक वन क्षेत्रमा आइतबार १ हजार ५ सय मौवा प्रजातिका बिरुवा रोप्दै वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ। ग्रिन फाउण्डेशन नेपाल र अमिलिया सामुदायिक वन उपभोक्ता समूहको संयुक्त आयोजना तथा सव–डिभिजन वन कार्यालय सतबरिया र सामुदायिक वन उपभोक्ता महासंघ, लमही दाङको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो। वन उपभोक्ता समूहका अध्यक्ष मञ्जित खड्काको अध्यक्षता तथा ग्रिन फाउण्डेशन नेपालका अध्यक्ष घनश्याम पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सामुदायिक वन क्षेत्रमा मौवा प्रजातिका १ हजार ५ सय बिरुवा रोपिएको आयोजकले जनाएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पाण्डेले सामुदायिक वनलाई संरक्षणमा मात्र सीमित नराखी उत्पादन र वन उद्यमसँग जोड्नुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले स्थानीय उपभोक्ताले वनको संरक्षण, व्यवस्थापन र रेखदेखसँगै आयआर्जनमूलक गतिविधिलाई पनि प्राथमिकता दिनुपर्ने बताउनुभयो। यसले वन संरक्षणसँगै स्थानीय समुदायको आर्थिक अवस्था सुदृढ बनाउन सहयोग पुग्ने उहाँको भनाइ थियो।

वृक्षारोपण कार्यक्रममा सव–डिभिजन वन कार्यालय देउखुरीका प्रमुख गनेश खड्का, सामुदायिक वन उपभोक्ता महासंघ दाङका अध्यक्ष हरि भुसाल, सव–डिभिजन वन कार्यालय सतबरियाका प्रमुख मोहन मिश्र, ग्रिन फाउण्डेशन नेपाल दाङका उद्यम प्रवर्द्धन विकास अधिकृत सुरेश रावत, स्थानीय उपभोक्ता, वनकर्मी तथा सुरक्षाकर्मीको सहभागिता रहेको थियो। आयोजकका अनुसार मौवा प्रजातिको संरक्षण र विस्तार गर्दै वन क्षेत्रको जैविक विविधता संरक्षण तथा स्थानीय समुदायको दीर्घकालीन आयआर्जनमा टेवा पुर्‍याउने उद्देश्यले वृक्षारोपण कार्यक्रम सञ्चालन गरिएको हो। स्थानीय बन  महासंघ लमहिका अध्यक्ष पुर्ण बहादुर बस्नेतको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण ग्रीन फाउन्डेसन नेपाल दाङ्का कार्यक्रम संयोजक दिपक परियारले गर्नु भएको थियो ।

प्रकाशित मिति : २०८३ साउन ३ गते आइतवार
प्रतिक्रिया