प्युठान । राष्ट्रिय साना सहरी खानेपानी उपभोक्ता महासंघ, प्युठान जिल्ला समितिको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । भेलाले कमलराज रिजालको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिति सर्वसम्मत रूपमा गठन गरेको छ । भेलालाई सम्बोधन गर्दै प्युठान नगरपालिकाका नगर प्रमुख विष्णु गिरीले खानेपानी उपभोक्ता समितिको गठनले नगरपालिका र उपभोक्ताबीचको समन्वयलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले स्वच्छ तथा सुरक्षित खानेपानी उपलब्ध गराउनु सरकारको दायित्व भए पनि उपभोक्ता समितिहरूले खानेपानी आयोजना सञ्चालन गरी सरकारलाई महत्वपूर्ण सहयोग पु¥याउँदै आएको उल्लेख गर्नुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि तथा राष्ट्रिय साना सहरी महासंघका केन्द्रीय अध्यक्ष खेमराज ओलीले सरकारले उपभोक्ता संस्थालाई कमजोर बनाउने वा खारेज गर्ने कानुनी व्यवस्था फिर्ता लिनुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले खानेपानी क्षेत्रमा उपभोक्ता समितिहरूले सरकारकै जिम्मेवारीका धेरै काम प्रभावकारी रूपमा सञ्चालन गरिरहेको उल्लेख गर्दै यस्ता संस्थाहरूलाई थप सशक्त बनाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले विद्युत् महसुल, ब्याजदर तथा जनसहभागितासम्बन्धी विद्यमान नीतिका कारण खानेपानी उपभोक्ता समितिहरूमाथि अतिरिक्त आर्थिक भार परेको बताउँदै सरकारलाई जनमैत्री नीति अवलम्बन गर्न आग्रह गर्नुभयो । साथै, खानेपानी क्षेत्रमा जनताको हितविपरीत हुने कुनै पनि निर्णयको महासंघले सशक्त रूपमा विरोध गर्ने चेतावनीसमेत दिनुभयो । कार्यक्रममा सहभागी अन्य वक्ताहरूले खानेपानी उपभोक्ता समितिहरूको संस्थागत सुदृढीकरण, आपसी समन्वय तथा उपभोक्तामैत्री नीतिको आवश्यकता औंल्याउँदै सबै सरोकारवालाबीच सहकार्य अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।
महासंघका लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय साना सहरी महासंघका केन्द्रीय उपाध्यक्ष जानका केसी, बिजुवार खानेपानी उपभोक्ता उपभोक्ता समितिका अध्यक्ष तथा वडा अध्यक्ष, लुम्बिनी प्रदेश समितिका उपाध्यक्ष, महासचिव, सचिवलगायत प्युठान जिल्लाका विभिन्न खानेपानी उपभोक्ता समितिका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
भेलाबाट गठित नयाँ जिल्ला समितिले प्युठान जिल्लाका खानेपानी उपभोक्ता समितिहरूको हकहित संरक्षण, संस्थागत विकास तथा समन्वयलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।






