२०८३ भाद्र २४ गते बुधवार

हराउँदै कमेरो र रातोमाटोले रंगिएका घर

तुलसीपुर, असोज १२  । नेपाली हिन्दु धर्मावलम्बीको ठूलो चाडपर्व वडादशैँ सबैको घरघरमा भित्रिसकेको छ । दसैँ भित्रिएसँगै ग्रामीण क्षेत्रका गाउँवस्तीहरुमा घर सिँगार्ने लिपपोत गर्ने कामले तिव्रता पाउने समय अहिले हो । केही वर्ष अघिसम्म पहाडी क्षेत्र तथा तराइ क्षेत्रका गाउँबस्तीहरुमा ढुङ्गा र माटोले बनेका घरमा कमेरो (सेतोमाटो) र रातोमाटोले लिप्ने अर्थात पोत्ने प्रचलन थियो ।   तर अहिले भने कमेरो र रातोमाटोले घरे पोत्ने चलन अधिकांश स्थ्ँन्म्ँ हराउँदै गएको छ । पहाडतिर बनेका परम्परागत शैलीमा ढुङ्गा र माटोबाट बनेका घरहरुमा कमेरो र रातोमाटोको प्रयोग हुने गर्दथ्यो । पछिल्लो समयमा आधुनिकतासँगै घर बनाउँदा सिमेन्टको प्रयोग हुन थालेपछि र परम्परागत शैलीमा बनेका घरहरुमा पनि सिमेन्टले प्लस्टर गर्न थालिएपछि कमेरो र रातोमाटोको सट्टामा बजारिया आयातित रङ ९कलर०को प्रयोग हुन थालेपछि परम्परागत घरहरु लोेप हुन थालेको हो । रुकुम त्रिवेणी गाउँपालिका १ माथि गाउँका ५९ वर्षिया लाल बहादुर पुनले विस्तारै विस्तारै आधुनिकतासँगै पुराना परम्पराहरु हराउँदै गएको बताउनु भयो । ‘पहिलेपहिले दशैँ आउँदै गर्दा गाउँघरमा घर पोत्ने कामले निकै चर्चा लिने गथ्र्यो तर अव त्यस्तो चहलपहल हुँदैन किनभने अव सबैले पक्की घर बनाउन थालिसके ।’ उहाँले भन्नुभयो । पहिले गाउँलेहरु सबै मिलेर समूहमा घरभन्दा धेरै टाढा कमेरो र रातोमाटो लिन जाने गरेकोमा अव माटोले पोत्ने घरहरु कमै मात्रामा पाइने गरेको उहाँले बताउनु भयो । यस्तै दसैँ सुरु भएपछि घर लिपपोत गर्नका लागि धेरै टाढासम्म कमेरो र रातोमाटो लिन जाने गरेको स्मरण गर्नुहुन्छ रुकुम पश्चिमका रोशन बोहोरा । ‘दशैँका बेलामा टाढा टाढासम्म कमेरो र रातोमाटो लिन जान्थ्यौं, अव त घर पोत्नलाई राम्रो माटो पनि पाइदैन’ उहाँले भन्नुभयो, ‘अहिले त त्यो प्रचलन हरायो, धेरै जसोले पुराना घरमा लगाएको माटो उप्काएर सिमेन्टको प्लस्टर गरेका छन्, प्लस्टर भएका घरमा अहिले बजारिया रङ लगाउने चलन आयो, कमेरो र रातोमाटो त उस्तै परे देख्न पनि छोडिसक्यो ।’   गाउँमा पहिले पहिले दसैँका बेलामा लाहुरेहरु फर्किने, सहरबजार पढ्न गएका विद्यार्थीहरु र रोजगारीमा गएका व्यक्तिहरु फर्किने, चर्खे पिङ र लिङ्गे पिङ हाल्ने रमाइलो गर्ने प्रचलन रहेको थियो । साथै दसैँका लागि आवश्यक पर्ने चिउरा चामललगायतका खाद्यान्न ढिकी र जाँतोमा कुट्ने पिस्ने गरिन्थ्यो । तर पछिल्लो समयमा विकसित हुँदै गएको बजारीकरण र आधुनिकतासँगै विस्तारै यो चलन पनि हराउँदै गएको छ । तुलसीपुर ८ र ९ कट्कुइयाँमा रहेको महालक्ष्मी सामुदायिक वनका अध्यक्ष डिल्ली भण्डारीले घर पोत्ने माटोहरु सामुदायिक वनहरुमा नपाइने भएकाले प्राकृतिक माटोले घर रङ्गाउन छोडेर केमिकलयुक्त बजारिया रङमा आकर्षित हुनुमा बाध्यता रहेको बताउनु हुन्छ । ‘जहाँपायो त्यही माटो हुँदैन, सामुदायिक वनहरुले माटो खन्न दिदैनन् अनि उपभोक्ताले पनि के गरुन, बजारमा जाने रङहरु किनेर ल्याउने लगाउने गर्छन् ।’ उहाँले भन्नुभयो– ‘आर्थिक हिसाबले केही खर्च त हुन्छ नै तर पनि बाध्यता छ पहिले जस्तो सहजै माटो पाउन सकिदैन । केही फाइदा पनि छ फेरी माटो लिन जाँदा ढिस्कोले पुरिने, कतिको ज्यान जाने घटनाहरु सुनिन्छ, जंगलमा जथाभावी खन्दा बोटविरुवाहरु मर्ने जस्ता समस्याहरु पनि देखिन्छ यस्ता समस्या तथा घटनाहरु पनि कम हुन्छन् कि भन्ने पनि लाग्छ ।’ माटोले घर रङगाउनुमा जोतिष शास्त्रले के भन्छ? यता जोतिषी माधवा शर्माले रातो कमेरो माटोले घर पोत्ने परापूर्वकाल देखि चलि आएको प्रचलन रहेको बताउनु भयो । परम्परादेखि चल्दै आएको र सरसफाइसँग सम्बन्धित रहेको उहाँको भनाइ छ । यति मात्रै नभएर विभिन्न किसिमका रङहरुको वास्तु तथा जोतिष शास्त्रका अनुसार धेरै महत्वपूर्ण र फरकफरक अर्थ रहेका छन् । रातो रङलाई शक्तिको प्रतिक मानिन्छ , सेतो रङलाई शान्तिको पतीक मानिन्छ । त्यसैले रातो र सेतोको सम्बन्ध भयो भने शक्ति र शान्ति दुवै मिल्ने उहाँले बताउनुभयो । ‘हरेक कामहरु गर्दा शक्ति र शान्ति पनि चाहिन्छ’ उहाँँले भन्नुभयो– ‘त्यसैले त टिका पनि रातो रङको नै लगाउने चलन रहँदै आएको छ ।’ वास्तुशास्त्रमा भने पहेँलो रङलाई अद्यात्मिकसँग जोडिएको भन्दै अद्यात्मिक शान्ति प्राप्तिका लागि पहेँलो रङलाई लिने गरेको उहाँको भनाइ छ । अद्यात्मले आत्मिक शान्ति पाइने भएकाले पनि पहेँलो रङको महत्व रहेको छ । तर पछिल्लो समय बजारिया रङहरुको प्रयोग बढ्दै गएकाले पाकृतिक माटोको महत्व घट्दै गएको छ । स्वास्थ्यको दृष्किोणले प्राकृतिक माटो नै राम्रो हुने भएकाले सकेसम्म घर पोत्नका लागि माटो नै प्रयोग गर्न उहाँँले सुझाव दिनहुन्छ ।।
प्रकाशित मिति : २०८२ असोज १२ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।