काठमाडौं, १० भदौ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीपछि उद्धार कार्य तीव्र पारिएको छ। बाढी प्रभावित तथा जोखिममा परेका ११४ जनालाई नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत हवाई उद्धार गरिएको छ।
उद्धार गरिएकामध्ये नेपाली सेनाले विभिन्न उडानमार्फत ८५ जनालाई सुरक्षित स्थानमा ल्याएको छ। सेनाका अनुसार टिमुरे–धुन्चेबाट ६० जना, टिमुरे–त्रिशूलीबाट १३ जना, मैलुङबाट ५ जना, बेत्रावतीबाट ४ जना र त्रिशूलीबाट काठमाडौंसम्म ३ जनाको उद्धार गरिएको हो।त्यस्तै, निजी क्षेत्रका हेलिकप्टर कम्पनीहरूले पनि उद्धार अभियानमा सक्रिय सहभागिता जनाएका छन्। निजी क्षेत्रबाट मात्रै २९ जनाको हवाई उद्धार गरिएको छ।उद्धारका क्रममा कैलाश हेलिकप्टरले रसुवाबाट टिचिङ अस्पतालसम्म ५ जना, सिम्रिकले रसुवाबाट ३ जना, अन्नपूर्ण हेलिकप्टरले रसुवाबाट टिचिङ अस्पतालसम्म ४ जना, प्रभु हेलिकप्टरले रसुवाबाट टिचिङ अस्पतालसम्म ५ जना, सिम्रिकले थप २ जना, फिसटेलले ५ जना र एभरेष्ट हेलिकप्टरले २ जनालाई उद्धार गरेका छन्।
प्रभु हेलिकप्टरमार्फत थप २ जनालाई रसुवाबाट वीर अस्पताल ल्याइएको छ।भोटेकोशी नदीमा आएको अचानकको बाढीले रसुवाका विभिन्न क्षेत्रमा जनजीवन प्रभावित भएपछि नेपाली सेना तथा निजी क्षेत्रका हेलिकप्टर उद्धारमा परिचालित भएका हुन्। जोखिममा परेका नागरिकको खोजी तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउँदै लगिएको छ।





