२०८३ मङ्सिर १० गते बिहिवार

वलीद्धारा यातायात मजदुर संगठनको महासचिव पदमा उम्मेदवारी दिने घोषणा

फोटो फाईल

दाङ, १० मंसिर । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको आसन्न केन्द्रीय अधिवेशनमा महासचिव पदमा दाङका खगेन्द्र बहादुर वलीले उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । संगठनको आगामी मंसिर १९ र २० गते आयोजना हुने १२ औँ राष्ट्रिय अधिवेशनमा तुलसीपुर उपमहानगरपालिका–९ निवासी वलीले महासचिव पदमा उम्मेदवारी दिने तयारी गर्नुभएको छ । उहाँ हाल संगठनको केन्द्रीय उपमहासचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारीमा हुनुहुन्छ ।

को हुन् ? खगेन्द्र वली

रोल्पाको ग्रामीण परिवेशबाट राजनीतिक तथा सामाजिक यात्रा सुरु गर्नुभएका वलीको जीवनयात्रा जनप्रतिनिधिको जिम्मेवारीदेखि यातायात मजदुरका रूपमा भोगेको संघर्ष र श्रमिक अधिकारका लागि संगठनभित्र गरेको निरन्तर सक्रियतासँग जोडिएको छ । राजनीतिक आस्था, संगठनप्रतिको निष्ठा र श्रमिकका समस्यालाई नजिकबाट बुझेको अनुभवलाई उहाँले आफ्नो नेतृत्वको आधार बनाउदै निरन्तरता दिदै आउनु भएको छ ।

२०३२ साल फागुन ११ गते तत्कालीन रोल्पा जिल्लाको पाखापानी गाविस–७, मुर्चुलामा पिता बहादुर वली र माता तुलसा वलीका साइँला सन्तानका रूपमा जन्मिनु भएका वली सामान्य ग्रामीण परिवारमा हुर्किनुभएको हो। २०४६ सालको राजनीतिक परिवर्तनपछि तत्कालीन नेकपा एमालेका लोकप्रिय नेता मदन भण्डारीका विचार र भाषणबाट प्रभावित भएर उहाँ राजनीतिमा सक्रिय हुनुभयो। राजनीतिक गतिविधिमा संलग्न हुने क्रममा विभिन्न चुनौती सामना गर्नुभएका वलीको रोल्पामा प्रहरी हिरासत तथा जेल जीवनसमेत बिताउनुपरेको अनुभव छ ।

२०५१ साल चैत ३० गते तत्कालीन नेकपा एमालेका नेता तथा कार्यकर्ता कुमार दशौदीबाट उहाले पार्टी सदस्यता प्राप्त गर्नुभएको हो । २०५४ सालको स्थानीय निर्वाचनमा तत्कालीन पाखापानी गाविस–७ बाट नेकपा एमालेको तर्फबाट उहा वडा सदस्य निर्वाचित हुनुभयो ।  जनप्रतिनिधिका रूपमा गाउँका समस्या बुझ्ने र जनताको आवाज उठाउने अवसर उहाँले प्राप्त गर्नुभयो।

घर छोडे, विचार छोडेनन्

२०५२ सालदेखि सुरु भएको तत्कालिन सशस्त्र जनयुद्धले रोल्पालगायत पश्चिम नेपालका जिल्लाको जनजीवन प्रभावित बनाएको थियो। तत्कालिन द्वन्द्वकालीन राजनीतिक परिस्थितिका कारण वलीले आफ्नो जन्मभूमि छोडेर परिवारसहित दाङको तुलसीपुरमा बसाइँ सर्नुपर्ने अवस्था आयो। जन्मिएको गाउँ, घर र परिचित परिवेश छोडेर नयाँ ठाउँमा जीवन सुरु गर्नु सहज थिएन। परिवारको जिम्मेवारी र जीविकोपार्जनको चुनौतीसँगै उहाँले राजनीतिक आस्था र विचारलाई पनि निरन्तरता दिनुभयो। ठाउँ र परिस्थिति परिवर्तन भए पनि आफ्नो राजनीतिक विश्वास नत्यागेको उहाँको जीवनयात्राको महत्वपूर्ण पक्ष हो। तुलसीपुर आएपछि उहाँ यातायात क्षेत्रमा आबद्ध हुनुभयो।

लामो समय सार्वजनिक यातायातमा सहचालक तथा परिचालकका रूपमा काम गर्नुभएका वलीले श्रमिकले भोग्नुपर्ने वास्तविक समस्या आफ्नै जीवनमा अनुभूत गर्नुभयो। लामो समय सम्म यातायात मजदुरका रुपमा काम गर्दा उहाले न्यून पारिश्रमिक, असुरक्षित कार्य वातावरण, सामाजिक सुरक्षाको अभाव र पेशागत सम्मानको कमी जस्ता कयौँ समस्या नजिकबाट अनुभुती गर्नुभएको  छ ।  यही अनुभवले उहाँलाई यातायात मजदुरको हकहितका लागि संगठित रूपमा काम गर्न प्रेरित ग¥यो । २०६३ सालमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको साधारण सदस्यका रूपमा आबद्ध भएपछि उहाँले श्रमिक आन्दोलनसँगको यात्रा सुरु गर्नुभएको हो ।

इकाई कोषाध्यक्षदेखि केन्द्रीय उपमहासचिवसम्म

संगठनको साधारण सदस्यबाट सुरु भएको वलीको यात्रा क्रमशः विभिन्न जिम्मेवारी सम्हाल्दै केन्द्रीय पदाधिकारी सम्म उपस्थिती छ । उहाँले संगठनको इकाई कोषाध्यक्षको जिम्मेवारीबाट संगठनात्मक काम सुरु गर्नुभएको थियो। त्यसपछि केन्द्रीय सदस्यको जिम्मेवारी सम्हाल्दै दुई कार्यकाल केन्द्रीय कमिटीमा रहेर काम गर्नुभयो ।  २०७८ भदौ ७ र ८ गते बुटवलमा सम्पन्न संगठनको ११ औँ राष्ट्रिय अधिवेशनबाट उहाँ केन्द्रीय उपमहासचिव पदमा निर्वाचित हुनुभयो। हाल उहाँ सोही जिम्मेवारीसँगै सुदूरपश्चिम प्रदेश इन्चार्जका रूपमा संगठनात्मक गतिविधिमा सक्रिय हुनुहुन्छ । साथै नेकपा एमाले दाङ जिल्ला कमिटी सदस्यका रूपमा समेत राजनीतिक जिम्मेवारी निर्वाह गर्दै आउनुभएको छ। संगठनको प्रारम्भिक तहदेखि जिल्ला, प्रदेश र केन्द्रीय नेतृत्वसम्म काम गरेको अनुभवलाई उहाँले आगामी महासचिव पदको उम्मेदवारीको आधारका रूपमा आफुलाई प्रस्तुत गर्नुभएको छ।

श्रमिकको अधिकार र सम्मान मुख्य प्राथमिकता

यातायात क्षेत्रमा आफैँले लामो समय श्रमिकका रूपमा काम गरेको अनुभव भएकाले वलीका लागि मजदुरका समस्या केवल सैद्धान्तिक विषय होइनन्। चालक, परिचालक, सहचालक तथा स्वरोजगार यातायात मजदुरले भोगिरहेका समस्या उहाँले नजिकबाट बुझ्नुभएको छ । उचित पारिश्रमिक, सुरक्षित कार्य वातावरण, सामाजिक सुरक्षा कोषमा श्रमिकको पहुँच, पेशागत सम्मान र श्रमिकमैत्री कानुनी व्यवस्थालाई उहाँले महत्वपूर्ण विषयका रूपमा लिँदै आउनुभएको छ। यातायात क्षेत्रमा कार्यरत श्रमिकका समस्या समाधान गर्न संगठन केवल औपचारिक बैठक र निर्णयमा सीमित नभई श्रमिकको कार्यस्थलसम्म पुग्नुपर्ने उहाँको धारणा छ। सामाजिक सुरक्षाको प्रभावकारी कार्यान्वयन, यातायात क्षेत्रमा देखिएका प्रशासनिक समस्या, श्रमिकमाथि पर्ने आर्थिक भार र बदलिँदो प्रविधिअनुसार सार्वजनिक यातायातलाई व्यवस्थित बनाउने विषयमा संगठनले थप प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने उहाँको जोड छ।

अनुभवलाई संगठनको नेतृत्वमा बदल्ने वलीको चाहाना 

यहि मंसिर १९ र २० गते हुने १२औँ राष्ट्रिय अधिवेशनले संगठनको आगामी नेतृत्व र कार्यदिशा तय गर्नेछ। यस अधिवेशनमा महासचिव पदमा उम्मेदवारी दिने तयारी गर्नुभएका वलीले संगठनको तल्लो तहदेखि केन्द्रीय नेतृत्वसम्म प्राप्त अनुभवलाई थप जिम्मेवारीमा उपयोग गर्ने योजना छ ।  कुनै पनि संगठनको नेतृत्व पद प्राप्त गर्ने माध्यम मात्र नभई श्रमिकप्रतिको जिम्मेवारी, जवाफदेहिता र सामूहिक विश्वाससँग जोडिएको हुन्छ। त्यसैले संगठनलाई अझ सक्रिय, व्यवस्थित, श्रमिकमैत्री र परिणाममुखी बनाउन नेतृत्वले प्राथमिकता दिनुपर्ने आवश्यकता छ।

रोल्पाको मुर्चुलाबाट सुरु भएको वलीको यात्रा दाङको तुलसीपुर हुँदै देशभरका यातायात मजदुरको संगठनात्मक अभियानसम्म जोडिएको छ। जनप्रतिनिधिको अनुभव, यातायात मजदुरका रूपमा बिताएको संघर्षपूर्ण जीवन र संगठनको केन्द्रीय तहसम्मको जिम्मेवारीले उहाँलाई महासचिव पदमा दाबी प्रस्तुत गर्ने आधार दिएको छ। २०५१ सालमा पार्टी सदस्यता प्राप्त गरेदेखि २०५४ सालमा जनप्रतिनिधि निर्वाचित, २०६३ सालमा मजदुर संगठनमा आबद्धता र २०७८ सालमा केन्द्रीय उपमहासचिव निर्वाचित हुँदासम्मको यात्रा उहाँको निरन्तर सक्रियताको उदाहरण हो ।

प्रकाशित मिति : २०८३ मङ्सिर १० गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।