तुलसीपुर, १० मंसिर । रासायनिक विषादीको प्रयोग घटाउँदै विषादीरहित तथा अर्गानिक तरकारी उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले तुलसीपुर उपमहानगरपालिका–१६ का स्थानिय कृषकहरुलाई जैविक विषादी उत्पादन र प्रयोगसम्बन्धी तालिम प्रदान गरिएको छ । तुलसीपुर उपमहानगरपालिका कृषि विकास शाखाको आयोजनामा सञ्चालन गरिएको दुईदिने तालिमको बिहीबार एक कार्यक्रमका बीच समापन गरिएको हो । तालिममा स्थानीय कृषकलाई घरमै उपलब्ध हुने विभिन्न वनस्पति तथा जैविक स्रोतको प्रयोगबाट विषादी तयार गर्ने विधि, त्यसको प्रयोग गर्ने तरिका र यसबाट हुने फाइदाबारे प्रशिक्षण दिइएको थियो ।
मिलिजुली कृषक समूहका अध्यक्ष विनोद चौधरीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाको कृषि समितिका सदस्य रिखा शर्माको प्रमुख आतिथ्यतामा तालिम समापन गरिएको हो । तरकारी खेती गर्दै आएका २५ जना स्थानीय कृषकहरुको सहभागिता रहेको तालिममा कृषि विकास शाखाका प्रमुख कुलराज चौधरी, अधिकृत छैटौँ शंकर न्यौपाने र केशव केसीले प्रशिक्षण दिनुभएको थियो । तालिम मार्फत कृषकलाई रासायनिक विषादीको विकल्पका रूपमा जैविक विषादी उत्पादन तथा प्रयोग गर्न सक्ने सीप प्रदान गरिएको छ । यसले उत्पादन लागत घटाउन, माटो तथा वातावरणको संरक्षण गर्न र उपभोक्तालाई स्वस्थ तरकारी उपलब्ध गराउने अभ्यासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।