तुलसीपुर,१२ भदौ । मैले आफैंभित्र धेरै पटक प्रश्न गरेको छु—साँच्ची, यो मान्छे कुन धातुले बनेको छ..? यो प्रश्न कुनै स्वार्थ, आग्रह वा प्रशंसाको अपेक्षाबाट जन्मिएको होइन । म एक भूईँमान्छे हुँ । जे देखें, जे महसुस गरें, आज त्यही कुरा मनले भन्यो—लेख्नै मन लाग्यो । हाम्रो समाजमा एउटा अनौठो चलन छ—जिउँदो हुँदा सराप्ने, मरेपछि प्रशंसाको बाढी बगाउने ।
तर मेरो विचारमा, असल मान्छेको असल कामको प्रशंसा उसले सुन्न सक्ने बेलामै गर्नुपर्छ । त्यसैले आज म बाँचेकै अवस्थामा तुलसीपुर उपमहानगरपालिका – १८ का वडा अध्यक्ष तथा नगर प्रवक्ता माधब वलीको बारेमा केही शब्द लेख्दैछु । माधब वलीलाई नियाल्दा कहिलेकाहीँ लाग्छ—यी मान्छे असाध्यै कठोर र साहसी छन् । फेरि अर्को क्षण यति नरम, सरल र विनम्र देखिन्छन् कि लाग्छ—कतै यिनमा कठोरता छैन कि, कतै यी त कायर पो हुन् कि..? तर जब समाजमाथि संकट आइपर्छ, त्यही नरम मान्छेभित्रबाट एउटा अद्भुत साहस निस्कन्छ । आफूलाई अप्ठेरो पर्दा होइन, अरूलाई अप्ठेरो पर्दा मृत्युको जोखिम मोल्न तयार हुने मान्छे हुन् माधब वली ।
२०७२ सालको भूकम्प सम्झनुस् । धर्ती थरथर काँपिरहेको थियो । मानिसहरू आफ्नै ज्यान जोगाउन त्रसित थिए । तर त्यही कम्पनबीच उहाँ सिन्धुपाल्चोक पुग्नुभयो । नागरिकका लागि अस्थायी टहरा निर्माण गर्न करिब एक महिनासम्म निरन्तर खटिनुभयो । त्यसपछि आयो कोरोना महामारी । संसार नै डरले घरभित्र थुनिएको थियो ।
सडक सुनसान थिए । संक्रमणको त्रासले मानिसहरू आफ्नै आफन्तसँग समेत डराइरहेका थिए । तर उहाँ भने घरघर पुगेर बिरामीको अवस्था बुझ्दै, उपचारको प्रबन्ध मिलाउँदै हिँड्नुभयो । कोरोनाका कारण मृत्यु भएका व्यक्तिहरूको अन्त्येष्टिमा समेत निर्भीकतापूर्वक खटिनुभयो । आज फेरि देश प्राकृतिक विपत्तिको चपेटामा छ । रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीले कैयौँ परिवार उजाडिएका छन । करिब ५ सयभन्दा बढीको ज्यान गएको र सयौँ नागरिक अझै सम्पर्कविहीन रहेको यो पीडादायी अवस्थामा जोखिम टरेको छैन । तर यही जोखिमबीच पनि हराइरहेका दतुलसीपुर, दाङको तुलसीपुरका नागरिकको खोजीमा माधब वली निस्कनुभएको छ ।
त्यसैले फेरि मनले सोध्छ—आखिर कोही मान्छे किन यस्ता हुन्छन..?
किन आफ्नो ज्यानभन्दा अरूको ज्यान ठूलो लाग्छ ?
किन आफ्नो सुरक्षाभन्दा अरूको पीडा ठूलो देखिन्छ ?
किन संकट आउँदा अधिकांश मानिस पछाडि हट्छन्, तर केही मान्छे मृत्युलाई समेत चुनौती दिँदै अगाडि बढ्छन ?
सायद यस्ता मान्छेहरू कुनै विशेष धातुले बनेका हुँदैनन् । उनीहरू मानवीय संवेदनाको सबैभन्दा बलियो धातुले बनेका हुन्छन । माधब वलीका सबै कुरा राम्रा होलान् भन्ने होइन । उहाँ पनि हामीजस्तै एउटा साधारण मान्छे हुनुहुन्छ । तर अरूको दुःखमा आफ्नो सुख बिर्सने बानी, संकटमा अगाडि बढ्ने साहस र मान्छेको जीवनलाई आफ्नै जीवनभन्दा माथि राख्ने स्वभाव—यी कुरा प्रशंसाका योग्य छन ।
त्यसैले उहाँलाई एउटा प्रश्न मात्र—
माधब वलीज्यू, आखिर तपाईं कुन धातुले बनेको मान्छे हो..?
हामीलाई थाहा छैन ।
तर यति चाहिँ थाहा छ—
देशलाई यस्ता मान्छेहरू चाहिन्छ, जो भाषणमा होइन, संकटको बीचमा देखिन्छन्। र असल मान्छेलाई असल भन्न मृत्यु कुर्नु पर्दैन।
लेखक – शंकर केसी तुलसीपुर–५ दाङ





