विद्वान् व्यक्तित्व आदरणीय एकराज शर्मा अधिकारीद्वारा लिखित बाल महाभारत अध्ययन गर्ने अवसर प्राप्त भयो। यस कृतिले प्राचीन महाकाव्य महाभारतका मूल भाव, जीवनदर्शन र नैतिक शिक्षालाई बालबालिका तथा नयाँ पुस्ताले सहज रूपमा बुझ्न सक्ने भाषामा प्रस्तुत गरेको छ। यति विशाल र गहन ग्रन्थलाई सरल, रोचक र जीवनोपयोगी शैलीमा प्रस्तुत गर्नु सामान्य कार्य होइन। यसका लागि लेखकको गहिरो अध्ययन, दीर्घ साधना र विषयप्रतिको समर्पण आवश्यक पर्छ। त्यस दृष्टिले यो कृति केवल बालसाहित्य मात्र होइन, भावी पुस्तामा नैतिक चेतना, विवेक र उत्तरदायित्वको बीउ रोप्ने सार्थक प्रयास पनि हो।
महाभारत करिब पाँच हजार वर्षअघि रचिएको मानिन्छ । प्रश्न उठ्न सक्छ—आज कृत्रिम बुद्धिमत्ता, सूचना–प्रविधि र विश्वव्यापीकरणको युगमा पनि महाभारत किन पढ्ने? नयाँ पुस्तालाई किन पढाउने? मेरो बुझाइमा महाभारतको महत्व यसको प्राचीनतामा होइन, मानव स्वभावको गहिरो अध्ययनमा छ । यो केवल पाण्डव–कौरवबीचको युद्धकथा होइन मानिसभित्र निरन्तर चलिरहने धर्म र अधर्म, न्याय र अन्याय, विवेक र अहंकार, लोभ र त्यागबीचको अन्तद्र्वन्द्वको महागाथा हो । हामी प्रायः महाभारतलाई युद्धको कथा भन्छौँ। तर वास्तवमा यो युद्धको कथा मात्र होइन, युद्धसम्म समाज कसरी पुग्छ भन्ने इतिहास पनि हो। यदि धृतराष्ट्रले पुत्रमोह त्यागेका भए, शकुनिको छल समयमै रोकिएको भए, द्यूतसभा हुन नदिइएको भए, द्रौपदीमाथिको अपमान हुँदा सभामा बसेकाहरू मौन नबसेका भए वा पाँच गाउँ दिने प्रस्ताव स्वीकारिएको भए, सम्भवतः महाभारतको युद्ध नै हुने थिएन।
आज हाम्रो समाजलाई हेर्दा पनि यही सत्य झल्किन्छ । परिवारहरू सम्पत्तिका कारण विभाजित भइरहेका छन । वृद्धआमाबुवा एक्लिँदै गएका छन् । संवादको संस्कृति कमजोर बन्दै गएको छ । अधिकारको आवाज चर्किंदै गएको छ भने कर्तव्यको चेतना क्षनिक हुँदै गएको छ। यी सबै अवस्था महाभारतले हजारौँ वर्षअघि नै देखाएको चेतावनीका आधुनिक रूपहरू हुन्। महाभारतको अर्को विशेषता यसको पात्र निर्माणमा छ। यहाँ कुनै पात्र पूर्ण रूपमा देवतुल्य छैन, न त पूर्ण रूपमा दुष्ट। सबै पात्र मानवीय गुण र कमजोरीका मिश्रण छन् । यही कारण महाभारत आज पनि जीवनको दर्पण बनेको छ। युधिष्ठिर धर्मराज हुन्, तर द्यूतको मोह त्याग्न सक्दैनन्। एक क्षणको दुर्बलताले राज्य, प्रतिष्ठा र आफ्नी पत्नी द्रौपदीसम्मलाई द्यूतको खालमा राख्ने स्थिति सिर्जना हुन्छ। यसले एउटा ठूलो शिक्षा दिन्छ—एउटा कमजोरीले जीवनभर कमाएको चरित्रसमेत संकटमा पार्न सक्छ।
भीष्म प्रतिज्ञा, त्याग र वीरताका प्रतीक हुन्। तर अन्यायका विरुद्ध बोल्न नसक्दा उनी नैतिक प्रश्नको केन्द्रमा उभिन्छन्। प्रतिज्ञा यदि न्यायको रक्षामा प्रयोग हुन सकेन भने त्यसको औचित्य के रहन्छ भन्ने प्रश्न महाभारतले उठाउँछ। द्रोणाचार्य महान् गुरु हुन्। तर राजाश्रय र पुत्रमोहले उहाको निष्पक्षता कमजोर बनाउँछ। विद्या जब नैतिकताभन्दा शक्तिको सेवामा समर्पित हुन्छ, त्यसले समाजलाई उज्यालो होइन, अन्धकारतर्फ डो¥याउँछ। कर्ण महाभारतका सबैभन्दा पीडित पात्रमध्ये एक हुन्। जन्मका कारण पटक–पटक अपमानित, प्रतिभाले अनुपम, दानशीलतामा अद्वितीय, तर गलत पक्षप्रतिको अन्धनिष्ठाका कारण अन्ततःउनि दुःखद नियति भोग्न बाध्य हुन्छन्। महाभारतले कर्णमार्फत सिकाउँछ—प्रतिभाभन्दा ठूलो विवेक हो।
महाभारतमा कर्णमाथि गरिएको जातीय अपमानले तत्कालीन समाजको विभेदकारी संरचनालाई पनि उजागर गर्छ। दिक्षान्त समारोहमा उहाको वीरता र कौशलभन्दा पहिले उनको जन्मकथाको प्रश्न उठाइन्छ,र सोधिन्छ – तेरो जात ,धर्म ,कुल,बंश के हो ? जब उनी सुत पुत्र भएको पत्ता लाग्छ अनि उनलाई दिक्षान्त समारोहमा प्रतियोगी हुनबाट बंचित गरिन्छ,द्रौपदीको स्वयंवरदेखि परशुरामसँगको शिक्षा प्राप्तिसम्म उहाले जातीय अपमान सहनुपर्छ। कर्णको गिरेको स्वाभिमान,दुखेको चित्तलाई गहिरो गरि बुझेका दुर्योधनले कर्णको प्रतिभाको सम्मान गर्दै उहालाई अंगदेशको राजा बनाइदिनुहुन्छ । यही कारण कर्ण अन्तिम क्षणसम्म दुर्योधनप्रति कृतज्ञ रहन्छन्। यस प्रसङ्गले सामाजिक सम्मान, अवसर र मानवीय सम्बन्धको गहिरो मनोविज्ञान प्रस्तुत गर्छ ।
महाभारतमा एकलव्यमाथि गुरु द्रोणाचार्यले गरेको व्यवहार ज्ञान र अवसरमाथिको वर्गीय तथा सामाजिक विभेदको प्रतीकका रूपमा देखिन्छ। वनवासी समुदायका भएकै कारण उनलाई शिष्यका रूपमा अस्वीकार गरियो। आफ्नै प्रयासबाट अर्जुनसरहको धनुर्धर बनेपछि पनि द्रोणाचार्यले गुरुदक्षिणाको नाममा उहाको औँठा मागेर प्रतिभामाथि अन्याय गरे। यस घटनाले देखाउँछ कि जब शक्ति, विशेषाधिकार र स्वार्थले न्यायलाई जित्छ, तब योग्यताभन्दा पहुँच र जन्मको मूल्य बढ्छ। त्यसैले एकलव्यको काटिएको औँठा केवल एउटा व्यक्तिको पीडा होइन, समान अवसर र सामाजिक न्यायमाथि गरिएको प्रहारको प्रतीक हो।
यसरी कर्ण र एकलव्य दुवैले प्रमाणित गर्छन् कि प्रतिभा कुनै जात वा वर्गको बपौती होइनÙ तर जब समाजले योग्यताभन्दा जन्मलाई प्राथमिकता दिन्छ, तब असंख्य प्रतिभाहरू ओझेलमा पर्छन्। यही कारण यी दुई पात्र आज पनि सामाजिक न्याय, समान अवसर र मानवीय गरिमाको बहसमा जीवित र सान्दर्भिक प्रतीकका रूपमा स्थापित छन्। द्रौपदीको चीरहरण महाभारतको सबैभन्दा पीडादायी प्रसङ्ग हो। त्यो केवल एउटी महिलामाथिको अपमान थिएनÙ त्यो सम्पूर्ण सभ्यता, न्याय र मानव मर्यादामाथिको आक्रमण थियो। अझ गम्भीर कुरा, त्यहाँ उपस्थित भीष्म, द्रोण, कृपाचार्य र धृतराष्ट्रजस्ता प्रभावशाली व्यक्तिहरूको मौनता थियो। अन्याय गर्नेभन्दा अन्याय देखेर पनि नबोल्नेहरूको मौनता समाजका लागि झन् घातक हुन्छ भन्ने शिक्षा आज पनि उत्तिकै सान्दर्भिक छ।
यद्यपि त्यही सभामा धृतराष्ट्र पुत्र विकर्णजस्ता विवेकी पात्रले द्रौपदीमाथिको अन्यायको विरोध गरेका थिए। यसले देखाउँछ—सत्यको पक्षमा उभिन ठूलो पद होइन, ठूलो अन्तःकरण चाहिन्छ। महाभारतमा अम्बा, गान्धारी र द्रौपदीका अनिच्छुक र जोरजुलम प्रबृत्तिका विबाह प्रसङ्ग तथा द्रौपदीमाथि द्यूतसभामा कौरबहरुले, बिराट दरबारमा कीचक र काम्यक बनमा जयद्रथद्वारा भएका यौन दुव्र्यवहार तथा हिंसात्मक प्रयासहरूले पितृसत्तात्मक समाजमा नारीको इच्छा, सम्मान र स्वतन्त्रतामाथि भएको दमनलाई उजागर गर्छन्।
यद्यपि अम्बाले आफू माथी भिष्मले गरेको अन्याय बिरुद्ध दागा धर्दै शिखण्डिको रुप धारण गरि भिष्मको प्राण लिन्छिन, द्रौपदिले धुत सभामा चिरहरण हुंदै गर्दा एक बिद्रोही र सचेत रुख अपनाइ भीष्म,दोर्ण,कृप ,धृतराष्ट्र र आफ्ना पांच पतिको सातो लिन्छिन,किचकको ज्याद्रोपन प्रति राजा बिराट संग आँखा जुधाउंदै भिमको सहाराले किचकको बध गर्छिन र जयद्रथको जोरजुलम र अपहरण हर्कत प्रति घृणा ओकल्दै प्रतिकारमा उत्रिन्छिन भने उता गान्धारीले अन्धा धृतराष्ट संग विबाह हुँदै छ भन्ने थाहा पाए पछि बिद्रोह स्वरुप आँखामा पट्टि लगाउंछिन ।
यसरी अम्बा,द्रौपदी र गान्धारिले तत्कालीन अबस्थामा पनि पुरुष हैकम र नारी उत्पिडन प्रति प्रतिरोधी स्वर आवाज निकालेका छन् ।यथासमयमा प्रतिकारमा उत्रेका छन् ।
महाभारतमा सत्यवती,कुन्ती,माद्री,अम्बिका र अम्बालिका प्रति अनिच्छुक शारीरिक सम्पर्क भै पुरुष ज्यादती भएको यसै बुझिन्छ भने यसको विपरीत, कृष्णद्वारा रुक्मिणी हरण नारीको इच्छाविपरीत भन्दा रुक्मिणीकै स्पष्ट इच्छा र आग्रहअनुसार जबरजस्ती विवाहबाट उनको स्वतन्त्र निर्णय र सम्मानको रक्षा गर्न गरिएको हस्तक्षेप थियो। त्यसैले महाभारतले नारीमाथिको उत्पीडन र नारीको स्वतन्त्रताको संरक्षणलाई एउटै नैतिक धरातलमा राख्दैन। यसको मूल सन्देश स्पष्ट छ—जहाँ नारीको सम्मान, स्वतन्त्रता र न्यायको रक्षा हुँदैन, त्यहाँ अन्ततः कुरुक्षेत्र अपरिहार्य हुन्छ।
महाभारतले यी घटनाको समर्थन गर्दैन, बरु यिनै अन्याय र अधर्म अन्ततः कौरव वंशको विनाशको कारण बनेको देखाउँदै अन्यायको परिणामप्रति गम्भीर चेतावनी दिन्छ। विदुर महाभारतका विवेक, नीति र नैतिक साहसका प्रतिनिधि हुन्। उहाले धृतराष्ट्रलाई बारम्बार सचेत गराउनुभयो । तर सत्य सुन्न इच्छुक कान नभएपछि बुद्धिमत्ता पनि असहाय बन्छ। आज पनि समाजमा विदुरहरू छन्—बौद्धिक, अनुसन्धानकर्ता, नैतिक आवाज उठाउने नागरिकहरु छन् तर राज्य वा नेतृत्वले उनीहरूको कुरा नसुने संकट अपरिहार्य बन्न सक्छ ।
शकुनि केवल एउटा पात्र होइनन,उनी षड्यन्त्र, छल र कुटिल राजनीतिको प्रतीक हुन्। आज सामाजिक सञ्जालमा फैलाइने झूटा सूचना, घृणाको राजनीति, भ्रम र मनोवैज्ञानिक युद्धका अनेक रूपहरूमा शकुनिको प्रवृत्ति अझै जीवित छ । दुर्योधनलाई पनि केवल खलनायकका रूपमा बुझ्नु पर्याप्त हुँदैन। उनी एउटा मनोवृत्ति हुन ,अरूको अधिकार हडप्न खोज्ने, ईष्र्याले ग्रस्त हुने, शक्ति र अहंकारलाई नै सत्य ठान्ने प्रवृत्ति। यस्तो मनोवृत्ति आज राजनीति, प्रशासन, व्यापार र परिवार सबै क्षेत्रमा देख्न सकिन्छ।
यसैले महाभारत इतिहास मात्र होइन, प्रत्येक युगको मनोवैज्ञानिक, सामाजिक र नैतिक दस्तावेज पनि हो। यसका पात्रहरू पुराना भए पनि उनीहरूले प्रतिनिधित्व गर्ने प्रवृत्तिहरू आज पनि हाम्रै समाजमा सक्रिय छन्। महाभारतका कृष्ण केवल पूजनीय देवता मात्र होइनन्Ù उनी जीवनका उत्कृष्ट व्याख्याता, कुशल कूटनीतिज्ञ र मानव मनोविज्ञानका सूक्ष्म विश्लेषक पनि हुन । उनी धर्मलाई जड नियमका रूपमा होइन, न्याय, उत्तरदायित्व र लोककल्याणसँग जोडिएको जीवित मूल्यका रूपमा बुझाउँछन्। त्यसैले गीतामा व्यक्त गरिएको कर्मयोगको सन्देश—फलको मोहभन्दा कर्तव्यलाई प्राथमिकता दिने दृष्टि—आजको प्रतिस्पर्धी, तनावग्रस्त र स्वार्थकेन्द्रित समाजमा झन् बढी अर्थपूर्ण देखिन्छ। कृष्णले सिकाउँछन् कि धर्म अन्धानुकरण होइनÙ समय, परिस्थिति र न्यायअनुकूल विवेकपूर्ण निर्णय हो ।
महाभारतका अनेक संवादहरू—कृष्ण–अर्जुन, यक्ष–युधिष्ठिर, विदुर–धृतराष्ट्र, द्रौपदी–सत्यभामा, कृष्ण–सुदामा तथा युधिष्ठिर–भीष्म—मानव जीवनका विविध आयामहरू उजागर गर्ने अनुपम उदाहरण हुन्। यी संवादहरूले नेतृत्व, कर्तव्यबोध, आत्मसंयम, मित्रता, दाम्पत्य, सुशासन, उत्तरदायित्व, पारदर्शिता, नैतिक साहस र मानव मनोविज्ञानका गहिरा पक्षहरूबारे सोच्न बाध्य बनाउँछन्। यही कारण महाभारत केवल धार्मिक ग्रन्थ नभई जीवन व्यवस्थापनको पनि अद्वितीय पाठशाला बनेको छ ।
महाभारतको अर्को उल्लेखनीय पक्ष यसको सामाजिक यथार्थको निर्भीक चित्रण हो। सत्यवती, व्यास, कर्ण, धृतराष्ट्र, पाण्डु, विदुर तथा नियोग प्रथासम्बन्धी प्रसङ्गहरूले तत्कालीन समाजका पारिवारिक, सामाजिक र सांस्कृतिक संरचनालाई खुला रूपमा प्रस्तुत गरेका छन । त्यसैगरी मगधका राजा जरासन्धले राजनीतिक शक्ति सुदृढ गर्न आफ्ना छोरीहरूको विवाह कंससँग गराएको प्रसङ्गले सत्ता, कूटनीति र वैवाहिक सम्बन्धबीचको अन्तर्सम्बन्धलाई पनि उजागर गर्छ। यसले महाभारतलाई केवल आध्यात्मिक वा धार्मिक आख्यान नभई तत्कालीन समाजको यथार्थ दस्तावेजका रूपमा पनि स्थापित गर्छ।
महाभारतमा धृतराष्ट्रपुत्र युयुत्सुले न्यायको पक्षमा उभिँदै कौरव पक्ष त्यागेर पाण्डवहरूको साथ रोज्नु र मद्रनरेश शल्यले दुर्योधनको आतिथ्य तथा कूटनीतिक चालका कारण आफ्नै भान्जाहरूको पक्ष छोडी कौरव शिविरमा पुग्नु—यी दुवै प्रसङ्गले व्यक्ति सधैं विचार र नैतिकताले मात्र होइन, परिस्थिति, स्वार्थ, प्रभाव र मनोवैज्ञानिक दबाबले पनि आफ्नो पक्ष परिवर्तन गर्न सक्छ भन्ने यथार्थ उजागर गर्छन्। आजको राजनीतिक र सामाजिक परिवेशमा पनि विचार, पार्टी वा कित्ता परिवर्तनका प्रवृत्तिलाई बुझ्न यी प्रसङ्गहरू अत्यन्त सान्दर्भिक र शिक्षाप्रद देखिन्छन्।
महाभारतमा महर्षि व्यासबाट दिव्यदृष्टि पाएका सञ्जयले कुरुक्षेत्रको युद्धलाई निष्पक्ष रूपमा धृतराष्ट्रसमक्ष प्रस्तुत गरे। यही कारण आजको सन्दर्भमा सञ्जयलाई सत्यका निष्पक्ष साक्षी, विवेकका प्रतिनिधि, इतिहासका इमानदार अभिलेखकर्ता तथा आधुनिक अर्थमा तटस्थ युद्ध संवाददाता वा पत्रकारका प्रतीकका रूपमा बुझ्न सकिन्छ। उनले कुनै पक्षको पक्षपोषण नगरी सत्यलाई जस्ताको तस्तै प्रस्तुत गरे। आज सूचना, सञ्चार र पत्रकारितामाथि पक्षपात, भ्रम र स्वार्थका प्रश्न उठिरहेका बेला सञ्जयजस्तो सत्यनिष्ठ, तटस्थ र उत्तरदायी दृष्टिको झन् बढी आवश्यकता महसुस हुन्छ।
धेरै मानिस कुरुक्षेत्रलाई हरियाणाको एउटा ऐतिहासिक युद्धभूमि ठान्छन्। तर वास्तविक कुरुक्षेत्र प्रत्येक मानिसको अन्तर्मनमा छ। जब लोभ र सन्तोषबीच संघर्ष हुन्छ, त्यहीँ कुरुक्षेत्र हुन्छ। जब सत्य र सुविधाबीच छनोट गर्नुपर्छ, त्यहीँ महाभारत सुरु हुन्छ। जब व्यक्तिगत स्वार्थ र सार्वजनिक हित आमनेसामने हुन्छन्, त्यहीँ धर्मको परीक्षा हुन्छ। यस अर्थमा महाभारत कुनै समाप्त भइसकेको इतिहास होइनÙ यो प्रत्येक युगमा पुनः दोहोरिने मानवीय चेतनाको कथा हो। महाभारतको अर्को विशिष्टता भनेको यसले आफ्ना पात्रहरूलाई एकाङ्गी रूपमा चित्रण नगर्नु हो। यहाँ प्रत्येक पात्रका सबल र दुर्बल दुवै पक्षलाई समान स्पष्टताका साथ उद्घाटित गरिएको छ।
कृष्ण र भीष्मजस्ता महान् पात्रहरू पनि प्रश्न र आलोचनाभन्दा माथि छैनन् भने दुर्योधन, दुःशासन, शिशुपाल, जरासन्ध र कंसजस्ता पात्रहरू पनि केवल दानवीकरणका प्रतीकमा सीमित गरिएका छैनन्। गान्धारी, अम्बा, द्रौपदी, शिशुपाल, चार्वाकलगायत विभिन्न पात्रहरूको मुखबाट स्थापित नायकहरूको समेत कठोर आलोचना र समीक्षा गराइएको छ। यसले महाभारत कुनै व्यक्तिको भक्तिगान वा विरोधको ग्रन्थ नभई बहुआयामिक दृष्टिकोण, आत्मालोचना र नैतिक विमर्शको महाकाव्य भएको प्रमाणित गर्छ। यही कारण महाभारत आज पनि केवल धार्मिक ग्रन्थका रूपमा होइन, गहिरो दार्शनिक, साहित्यिक र सभ्यतागत चेतनाले सम्पन्न एक सशक्त महाकाव्यका रूपमा स्थापित छ ।
आज संसार विज्ञान, सूचना–प्रविधि र कृत्रिम बुद्धिमत्ताको अभूतपूर्व विकासको युगमा प्रवेश गरेको छ । मानिसले अन्तरिक्षमा पाइला टेकेको छ, कृत्रिम बुद्धिमत्ताले नयाँ सम्भावनाका ढोका खोलेको छ, तर नैतिक चेतना भने त्यही अनुपातमा विकसित हुन सकेको छैन। ज्ञान बढेको छ, विवेक घट्दै गएको छ। यही कारण महाभारत आज झन् बढी सान्दर्भिक बनेको छ। प्रविधिले साधन दिन्छ, तर त्यसको सदुपयोग गर्ने नैतिक विवेक भने महाभारतजस्ता ग्रन्थले नै सिकाउँछन्।
राजनीतिक दृष्टिले पनि महाभारत अत्यन्त गहिरो ग्रन्थ हो। यसले सत्ता कसरी प्राप्त गर्नेभन्दा पनि सत्ता किन आवश्यक छ भन्ने प्रश्न उठाउँछ। श्रीकृष्णले अन्तिम क्षणसम्म युद्ध टार्ने प्रयास गरे। उनले सम्पूर्ण राज्य मागेननÙ पाँच गाउँको प्रस्ताव मात्र राखे। तर दुर्योधनको अहंकारले संवाद अस्वीकार ग¥यो। जहाँ संवाद समाप्त हुन्छ, त्यहाँ द्वन्द्व सुरु हुन्छ। आज विश्वभरि देखिने राजनीतिक ध्रुवीकरण, असहिष्णुता, शक्ति–प्रतिस्पर्धा र युद्धका अवस्थाहरूले पनि यही शिक्षा पुनः सम्झाइरहेका छन्।
महाभारतको सबैभन्दा ठूलो त्रासदी दुर्योधनको दुष्टता मात्र होइन, भीष्महरूको मौनता, धृतराष्ट्रहरूको मोह र विदुरहरूको उपेक्षा पनि हो। समाज तब मात्र संकटमा पर्दैन जब दुष्ट शक्तिशाली हुन्छ समाज तब झन् ठूलो संकटमा पर्छ जब असल मानिसहरू मौन बस्छन्। त्यसैले महाभारतले अन्यायको प्रतिरोधलाई नै धर्मको महत्वपूर्ण आधार मानेको छ । यही कारण आजका बालबालिकालाई महाभारत पढाउनु आवश्यक छ। उनीहरूलाई युद्ध सिकाउन होइन, विवेक सिकाउन । प्रतिशोध सिकाउन होइन, न्याय सिकाउन। शस्त्रको प्रयोग सिकाउन होइन, निर्णय गर्ने नैतिक क्षमता विकास गर्न। धर्म भनेको अन्धविश्वास होइन, जिम्मेवारी हो, शक्ति भनेको प्रभुत्व होइन, सेवा होÙ ज्ञान भनेको सूचना होइन, विवेक हो भन्ने चेतना विकास गर्नु नै महाभारतको वास्तविक उद्देश्य हो।
यस दृष्टिले बाल महाभारत जस्ता कृतिहरू अत्यन्त महत्त्वपूर्ण छन्। बाल महाभारतमा उपरोक्त घटना ,पात्र र प्रबृत्तिलाई मसिनो गरि नकेलाइएको अबश्य छ ,बालबालिकाले महाभारतको सम्पूर्ण दार्शनिक गहिराइ तत्काल बुझ्न नसक्लान्, तर चरित्र, नैतिकता, सत्य, साहस, करुणा र उत्तरदायित्वका बीउ भने अवश्य ग्रहण गर्न सक्छन्। आज रोपिएको यही बीउले भोलि जिम्मेवार नागरिक, संवेदनशील नेतृत्व र सभ्य समाज निर्माण गर्न सहयोग पु¥याउँछ । सायद यही गहिरो महत्त्वबोध गरेर नै आदरणीय विद्वान् एकराज शर्मा अधिकारीले चौरासी वर्षको उमेरमा पनि बाल महाभारत जस्तो उपयोगी कृति सिर्जना गर्नुभएको हो। उहाँको यो साधना नयाँ पुस्ताप्रति उत्तरदायित्वबोध र ज्ञानप्रतिको समर्पणको प्रेरणादायी उदाहरण हो ।
महाभारत पढिसकेपछि सबैभन्दा ठूलो प्रश्न पाण्डव वा कौरवमध्ये कसको पक्ष लिने भन्ने होइन। बरु आफ्नै जीवनतर्फ फर्केर हेर्ने हो—मेरो जीवनमा धृतराष्ट्रको मोह कति छ? मेरो व्यवहारमा दुर्योधनको अहंकार कति छ? मेरो निर्णयमा युधिष्ठिरको विवेक कति छ? मेरो साहसमा भीमको दृढता कति छ? मेरो कर्ममा अर्जुनको एकाग्रता कति छ? मेरो जीवन ब्यबहारमा बिदुरको दुर दृष्टि र नितिज्ञता कति छ ? र मेरो अन्तःकरणमा श्रीकृष्णले सिकाएको धर्म, नैतिकता र कर्मयोग कति जीवित छ? यही प्रश्नसँग महाभारत प्रत्येक पुस्तासँग संवाद गर्छ। त्यसैले महाभारत पुरानो ग्रन्थ मात्र होइनÙ यो मानव सभ्यताको निरन्तर जीवित चेतना हो ।
निष्कर्ष–
आज संसार युद्ध, जलवायु संकट, नैतिक विचलन, आर्थिक असमानता र सामाजिक ध्रुवीकरणको कठिन मोडमा उभिएको छ। यस्ता चुनौतीबीच महाभारतले हामीलाई एउटा गहिरो सत्य सम्झाउँछ—सभ्यताको विनाश बाह्य आक्रमणभन्दा पहिले आन्तरिक नैतिक पतनबाट सुरु हुन्छ। दुर्योधनहरू जन्मनु मात्र समस्या होइनÙ विदुरहरूको उपेक्षा, भीष्महरूको मौनता, धृतराष्ट्रहरूको मोह र समाजको निष्क्रियता नै वास्तविक संकट हो।
त्यसैले महाभारतलाई केवल धार्मिक श्रद्धाको ग्रन्थका रूपमा पूजा गर्नु पर्याप्त छैन। यसलाई जीवनको दर्पणका रूपमा पढ्न, बुझ्न र व्यवहारमा उतार्न आवश्यक छ। जबसम्म मानिसभित्र लोभ, मोह, अहंकार, प्रेम, करुणा, न्याय र विवेकबीचको संघर्ष जीवित रहन्छ, तबसम्म महाभारत पनि जीवित रहनेछ। यही कारण यसलाई केवल एउटा महाकाव्य होइन, मानव सभ्यता, नैतिकता, राजनीति, मनोविज्ञान र जीवनदर्शनको विश्वकोश तथा पाँचौँ वेदका रूपमा सम्मान गरिन्छ।
अन्त्यमा, बालबालिकालाई लक्षित गरि भरसक उनीहरुले बुझ्ने भाषामा महाभारत पढ्नलाई हुटहुटि र जिज्ञासा पैदा गर्ने हेतु बाल महाभारत कृतिका स्रष्टा आदरणीय एकराज शर्मा अधिकारीज्यूलाई हार्दिक बधाई तथा दीर्घायुको शुभकामना व्यक्त गर्दछु। उहाँको बाल महाभारतले हाम्रा बालबालिकामा ज्ञान, विवेक, संस्कार र मानवीय चेतनाको उज्यालो फैलाओस् भन्ने कामना गर्दछु। साथै यस कृतिको प्रकाशनमा योगदान पु¥याउनुहुने मेधावी कन्सर्नका सञ्चालक मित्र सूर्य बी.सी.ज्यू पनि विशेष धन्यवादका पात्र हुनुहुन्छ ।
धन्यवाद
लेखक : राम बहादुर जि .सि .तुलसीपुर दाङ





