बारा,४ असोज । बाराको जितपुर सिमरा उपमहानगरपालिका–२ स्थित सम्झना स्टाफ होटलमा चक्कु प्रहारबाट एक जनाको मृत्यु भएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक युवकसहित ६ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार हिजो साँझ सम्झना स्टाफ होटलमा भएको विवादका क्रममा जितपुर सिमरा उपमहानगरपालिका–२ बस्ने ३५ वर्षीय शेरबहादुर खड्कालाई सोही वडामा बस्ने २२ वर्षीय आयुष राईले चक्कु प्रहार गरेका थिए।
चक्कु प्रहारबाट खड्काको घाँटीमा चोट लागेर घाइते भएका थिए। उनलाई उपचारका लागि बयोधा अस्पताल, वीरगञ्ज लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घटनापछि फरार रहेका आयुष राईलाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले जितपुर सिमरा उपमहानगरपालिका–१६ महेन्द्रनगरस्थित धानबारीबाट पक्राउ गरेको हो।
प्रहरीले घटनासँग सम्बन्धित अन्य पाँच जनालाई समेत पक्राउ गरेको जनाएको छ। पक्राउ पर्नेमा पर्साको ठोरी गाउँपालिका–१ घर भई जितपुर सिमरा–२ बस्ने ३४ वर्षीय बिन्दु तामाङ, जितपुर सिमरा–२ का ३० वर्षीय रामबहादुर तिमिल्सिना, २३ वर्षीय रत्न पार्विन तामाङ, जितपुर सिमरा–१६ का ४३ वर्षीय शान्ति राई र सोही वडाकी ४० वर्षीया सिता थापा मगर रहेका छन्। प्रहरीका अनुसार पक्राउ परेकाहरूमाथि ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी बारा जिल्ला अदालत, कलैयाबाट पाँच दिनको म्याद थप गरि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।