काठमाडौं, ५ असोज । हिमपहिरोमा पुरिएर मनास्लु हिमालमा दुई जनाको मृत्यु भएको छ । भारतीय मूलका जर्मनीका नागरिक र नेपाली नागरिकको गएराति हिमपहिरोमा पुरिएर मृत्यु भएको हो । सुतिरहेको टेन्टमा माथिबाट आएको हिमपहिरोले पुरिएर जर्मनीका आरोही ध्रुवज्योति गुहा र उहाँका आरोहण सहयोगी फुर्सेम्बा शेर्पाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।दुवै जना मकालु एड्भेन्चर कम्पनी प्रालिबाट मनास्लु आरोहणका लागि गएका थिए । तेस्रो शिविरमा टेन्टभित्रै झन्डै सात फिट हिउँले पुरिएर दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनीहरूको शव आज हेलिकप्टरबाट काठमाण्डौ ल्याउने तयारी छ । यससँगै मनास्लुमा यस समयमा मृत्यु हुनेको संख्या चार पुगेको छ । यसअघि सिङ्गापुरका आरोही ५० वर्षीय लाउ वी सेङको दोस्रो शिविरमा मृत्यु भएको थियो । साथै नेपाली सहयोगी २० वर्षीय टासी शेर्पाको पनि आधार शिविरमा मृत्यु भएको थियो । मनास्लु आरोहणका लागि यस याममा ४८० विदेशी आरोहीले अनुमति लिएका छन् । आरोहणका लागि डोरी टाँग्ने काम सम्पन्न भइसकेको छ । आरोहीहरू आरोहणको अन्तिम तयारी गरिरहेका छन् ।





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।