महोत्तरी,२६ भदौ । महोत्तरीको बलवा नगरपालिका–७ बनौटामा एक युवकको शव सेफ्टी ट्याङ्कीभित्र टुक्रा–टुक्रा अवस्थामा फेला परेको छ। भंगाहा नगरपालिका–६ निवासी करिब २२ वर्षीय विवेक कुमार सरदारको शव फेला परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार विवेक भदौ १४ गते साँझ जलेश्वर नगरपालिका–९ पिगौनास्थित दिदीको घरबाट मोटरसाइकलमा आफ्नो घरतर्फ जाने क्रममा बेपत्ता भएका थिए। उनी घर नपुगेपछि परिवारले खोजी सुरु गरेको थियो।
भदौ १६ गते विवेकका बुबाले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा हुलियासहित खोजतलासका लागि निवेदन दिएका थिए। निवेदनपछि प्रहरीले खोजीलाई तीव्रता दिने क्रममा बलवा नगरपालिका–७ बनौटा निवासी अशोक कुमार ठाकुरको घर पछाडि रहेको सेफ्टी ट्याङ्कीभित्र शव फेला पारेको हो।
प्रहरीका अनुसार शव टुक्रा–टुक्रा अवस्थामा फेला परेको थियो। घटना शंकास्पद देखिएपछि प्रहरीले अनुसन्धान अघि बढाउँदै बलवा नगरपालिका–७ का करिब ५८ वर्षीय अशोक कुमार ठाकुर, उनकी श्रीमती करिब ५५ वर्षीया रामकली देवी, बुहारी करिब २२ वर्षीया सोनु कुमारी ठाकुर तथा महोत्तरी गाउँपालिका–५ का करिब ३७ वर्षीय सियाराम शर्मालाई पक्राउ गरेर घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।