काठमाडौं,२ भदौ । मकवानपुरको भीमफेदी गाउँपालिका ६ जुरिखेतमा आज बिहान भएको जिप दुर्घटनामा घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा लक्ष्मी बडु रहेको प्रहरीले जनाएको छ । मृतक रजिष्ट्रार तारादत्त बडुकी श्रीमती रहेको प्रहरीले बताएको छ । उनको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कार्पियो जिप आज मंगलबार बिहान करिब ७ बजे जुरीखेतमा अनियन्त्रित भई खोल्सामा खसेको थियो । दुर्घटनामा दाङको तुलसीपुर उपमहानगरपालिका–९ दोघरे निवासी उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश ५७ वर्षीय गोकर्ण डाँगी, ५७ वर्षकै रजिष्ट्रार तारादत्त बडु, उनकी श्रीमती ४९ वर्षीया लक्ष्मी, छोरा २५ वर्षीय रितेन्द्र र ३१ वर्षीया रिता घाइते भएका थिए ।
दाङको राप्ती नगरपालिका–८ का करिब ३२ वर्षीय जिप चालक छुनिलाल चौधरी समेत घाइते भएका छन् । घाइतेलाई हेलिकप्टरबाट छाउनी अस्पताल लगिएको थियो । बिहान करिब सवा १० बजे छाउनी अस्पताल ल्याइएकोमा चिकित्सकले करिब साढे १० बजे लक्ष्मीलाई मृत घोषणा गरेका थिए ।





