केही दिनअघि मेरो फेसबुकमा एउटा नयाँ रिक्वीष्ट आयो। चिनजानकै मानिसहरूसँग म्युचुअल फ्रेन्ड देखेपछि मैले पनि एसेप्ट गरेँ। तर संवाद सुरु हुन नपाउँदै पहिलो म्यासेजमै रातो गुलाब झुल्कियो। न कुनै परिचय न त कुनै सन्दर्भ। यो एउटा सानो घटना जस्तो लागे पनि यसले मलाई निकै असहज बनायो। कसैको इच्छा र अनुमति बिना उसको व्यक्तिगत म्यासेज बक्समा यसरी छिर्नु पनि त एक प्रकारको डिजिटल हैरानी र हिंसाकै सुरुवात हो। यही व्यवहार देखेपछि मलाई यो लेख लेख्न मन लागेको हो।
प्रविधिले संसारलाई एउटा सानो कोठामा त ल्यायो तर हाम्रो मानवीय चेत र विवेकलाई भने कतै हराइदिएको महसुस हुदैछ । नेपाल प्रहरीको साइबर ब्यूरोको तथ्याङ्क हेर्ने हो भने पनि हाम्रो डिजिटल समाजको अवस्था डरलाग्दो देखिन्छ। आर्थिक वर्ष २०७९/८० मा ९,०१३ वटा साइबर अपराधका उजुरी परेका थिए भने २०८०/८१ मा यो सङ्ख्या दोब्बरभन्दा बढीले बढेर १९,७३० पुगेको छ। यो त केवल प्रहरीकहाँ पुगेका उजुरी मात्र हुन्। सामाजिक डर र लाजका कारण कतिपय पीडा त मान्छेले बाहिर भन्नै सक्दैनन्। मेरो इनबक्समा आएको त्यो गुलाब पनि कतै न कतै त्यही अदृश्य हिंसाकै एउटा रूप थियो। हाम्रो डिजिटल व्यवहारमा देखिएका मुख्य समस्याहरूलाई यसरी हेर्न सकिन्छ ।
१.नचिनेको मान्छेको इनबक्समा सिधै गुलाब पठाउनु वा अनावश्यक म्यासेज ठोक्नु आधुनिकता होइन। यो त अर्काको मर्यादामाथि जबर्जस्ती छिर्नु र उसलाई मानसिक रूपमा असहज बनाउनु हो।
२. अचेल हाम्रो संवेदना कतिसम्म मरेको छ भने श्रद्धाञ्जली दिने नाममा मानिसहरू मृतकको लासको तस्बिर फेसबुकमा राख्न तँछाडमछाड गर्छन्। मरेको शरीर देखाएर श्रद्धा प्रकट हुँदैन, बरु त्यसले परिवारको पीडालाई झन् गहिरो बनाउँछ।
३. बाटोमा कोही व्यक्ति दुर्घटनामा परेर छटपटाइरहेको छ भने उसलाई अस्पताल पुर्याउने हातहरू कम तर भिडियो खिच्ने मोबाइलहरू धेरै देखिन्छन्। कसैको जीवन मरणको बेला भाइरल हुने मसला खोज्नु मानवीयताकै हार हो।
४.आधिकारिक स्रोत नभएका र कसले भनेको हो भन्ने अत्तोपत्तो नभएका हावा कुराहरू डढेलो सरी फैलिन्छन्। यस्ता भ्रामक हल्लाले गर्दा सामान्य प्रयोगकर्ताहरू अलमलमा पर्छन् र नचाहिँदो डरले त्रसित हुन्छन्।
५.कसैले रातदिन मिहिनेत गरेर लेखेको लेख वा कवितालाई सिधै कपी गरेर आफ्नै नाममा चलाइदिने बौद्धिक चोरी अचेल सामान्य बनेको छ। साभार सम्म लेख्ने फुर्सद नहुनुले हाम्रो नैतिक स्तर कस्तो छ भन्ने देखाउँछ।
६.धेरै भ्युज र लाइक बटुल्नका लागि अर्को मान्छेको इच्छा विपरीत उसको वालमा ट्याग झुन्ड्याइदिने रोग व्यापक छ। अर्काको घरको भित्तामा आफ्नो फोहोर टाँस्ने यो कस्तो संस्कार हो ?
७. मेसेन्जरमा कुहिरो लागे झैँ गरी भिडियो र डकुमेन्ट्रीका लिङ्कहरू जबर्जस्ती पठाइदिने कामले सञ्चारलाई मर्यादित होइन, बरु झन्झटिलो र फोहोर बनाइरहेको छ।
८. संवेदना हराएका मान्छेहरूले अर्काको दुःख, बिमारी वा व्यक्तिगत पीडालाई पनि लाइक र कमेन्ट बटुल्ने हतियार बनाइरहेका छन्। हामी मानवीय रूपमा कति कमजोर बन्दैछौँ भन्ने यो एउटा प्रमाण हो।
९. रातो, सेतो वा पहेँलो रङ्गको अर्थ र सन्दर्भ नबुझी जहाँ पायो त्यहीँ प्रयोग गर्ने डिजिटल अज्ञानता अर्को समस्या हो। शोकको बेला पनि गुलाब पठाउने शैली साह्रै उदेकलाग्दो देखिन्छ।
१०. कसैको निजी जीवनको भिडियो वा फोटो उसको अनुमति बिना खिचेर सामाजिक सञ्जालमा तमासा बनाउनु गम्भीर अपराध हो। तर यहाँ कसैको इज्जत लिलाम गरेर रमाउनेहरूको ताँती निकै ठूलो छ।
डिजिटल साक्षरता भनेको केवल फेसबुक चलाउन जान्नु मात्र होइन, प्रविधिको प्रयोग गर्दा अर्काको सिर्जना, पीडा र मर्यादाको ख्याल गर्नु पनि हो। मेरो इनबक्समा आएको त्यो एउटा रातो गुलाबले मलाई यही सिकायो कि कसैको मौनतालाई कमजोरी ठान्नु र मानवीय संवेदना बिर्सिएर डिजिटल ढोकामा अनुमति बिना ढकढक्याउनु आधुनिकता होइन बरु विवेकहीनता हो। हामी सचेत र जिम्मेवार भएनौँ भने हाम्रो संवाद केवल मेसिनको खटखटमा सिमित हुनेछ जहाँ मान्छे त जोडिएका हुनेछन् तर मनहरू भने निकै टाढा पुगिसकेका हुनेछन्।
लेखक : सरस्वती चौतारा माध्यामिक विद्यालयका प्रधानाध्यापकका रुपमा कार्यरत हुनुहुन्छ ।






