तुलसीपुर, ३१ साउन । पश्चिम दाङका ग्रामीण तथा सेवाबाट वञ्चित नागरिकलाई स्थानीयस्तरमै सहज, सुलभ र गुणस्तरीय आँखा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले हापुरे बजारमा आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जअन्तर्गत सञ्चालित राप्ती आँखा अस्पतालले पश्चिम दाङका नागरिकलाई लक्षित गर्दै हापुरेमा आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएको हो । नयाँ केन्द्रबाट पश्चिम दाङका ग्रामीण भेगका नागरिकले आँखाको सामान्य परीक्षणदेखि आवश्यक उपचारसम्म स्थानीयस्तरमै पाउने अपेक्षा गरिएको छ । यसअघि सामान्य आँखाको उपचारका लागि समेत टाढा जानुपर्ने बाध्यता रहेका नागरिकलाई केन्द्र सञ्चालनले ठूलो राहत पुग्ने विश्वास गरिएको छ ।
उपचार केन्द्रको उदघाटन गर्दै नेपाल नेत्रज्योति संघका केन्द्रीय महासचिव भरतबहादुर चन्दले सन् १९७८ मा स्थापना भएको नेपाल नेत्रज्योति संघले देशभर २८ वटा आँखा अस्पताल र २ सय ५० भन्दा बढी आँखा उपचार केन्द्रमार्फत दृष्टिविहीनता न्यूनीकरण तथा आँखा स्वास्थ्य सेवाको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको बताउनुभयो । हापुरेमा सञ्चालन भएको केन्द्रले पश्चिम दाङका नागरिकलाई गुणस्तरीय आँखा उपचार सेवाको पहुँचमा ल्याउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
चन्दका अनुसार नेपाल नेत्रज्योति संघअन्तर्गत सञ्चालित आँखा अस्पताल तथा उपचार केन्द्रहरूले हालसम्म करिब ५ करोड २ लाख ६८ हजार जनालाई ओपीडी सेवा तथा ५६ लाख १९ हजार २ सय २४ जनाको शल्यक्रिया गरी दृष्टि जोगाउने काम गरेका छन । त्यसैगरी बबई गाउँपालिकाका अध्यक्ष कुल बहादुर खत्रीले गाउँपालिकाले राप्ती आँखा अस्पतालसँग सहकार्य गर्दै आँखा उपचार तथा शल्यक्रिया सेवा उपलब्ध गराउँदै आएको उल्लेख गर्दै आगामी दिनमा समेत साझेदारीलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो ।
यसैबीच हापुरेमा आयोजित निःशुल्क आँखा जाँच कार्यक्रममा ६ सयभन्दा बढी नागरिकको आँखा परीक्षण गरिएको थियो । परीक्षणका क्रममा ८० जनाभन्दा बढीमा शल्यक्रिया आवश्यक देखिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीले बताउनुभयो । सल्यक्रिया गर्न आवश्यक देखिएका बिरामीको राप्ती आँखा अस्पतालले निःशुल्क शल्यक्रिया गर्ने व्यवस्था मिलाइएको समेत अध्यक्ष गिरीले बताउनुभयो ।
कार्यक्रममा वडा नं. २ का अध्यक्ष टेकबहादुर वली, स्थानीयवासी पूर्ण केसी, हापुरे उद्योग वाणिज्य संघका अध्यक्ष टीकाराम खत्रीलगायतले पश्चिम दाङका दुर्गम तथा ग्रामीण क्षेत्रमा अझै पनि सहज रूपमा आँखा उपचार सेवा पुग्न नसकेको अवस्थामा हापुरेमा केन्द्र सञ्चालन हुनु महत्वपूर्ण उपलब्धि भएको बताएका थिए । राप्ती आँखा अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत जसराज विश्वकर्माले नेपाल सरकारको राष्ट्रिय आँखा स्वास्थ्य रणनीति तथा आँखा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने लक्ष्य कार्यान्वयनमा केन्द्र सञ्चालनले सहयोग पुग्ने बताउनुभयो । जनताको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने उद्देश्यअनुसार हापुरेमा उपचार केन्द्र स्थापना गरिएको उहाँको भनाइ थियो।
कार्यक्रममा नेपाल नेत्रज्योति संघका केन्द्रीय प्रवक्ता द्रोणप्रसाद गुरागाईं, दाङ शाखाका सचिव घनश्याम सुवेदी, सदस्य गीता भुसाल, चिफ मेडिकल डाइरेक्टर डा. सुलक्ष्मी कटुवाल, राप्ती आँखा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सहायक प्रा.डा. रञ्जितकुमार साहलगायत राजनीतिक दल, विभिन्न संघसंस्था तथा कार्यालयका प्रतिनिधिको सहभागिता थियो ।
राप्ती आँखा अस्पतालमा नेपाल नेत्रज्योति संघको केन्द्रीय बैठक
यसैबीच नेपाल नेत्रज्योति संघको नियमित केन्द्रीय बैठक राप्ती आँखा अस्पतालमा सम्पन्न भएको छ । बैठकमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म आँखा स्वास्थ्य क्षेत्रमा काम गर्ने समाजसेवी, संघका नेतृत्वकर्ता तथा विभिन्न प्रदेश र जिल्ला शाखाका सभापतिहरू सहभागी थिए।
नेपाल नेत्रज्योति संघ दाङ शाखाको आतिथ्यमा भएको बैठकअघि आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका प्रमुख प्रशासक डा. शम्शेर थापाले कार्यक्रमअन्तर्गत सञ्चालित अस्पतालका सेवा, हाल सञ्चालन भइरहेका कार्यक्रम तथा आगामी रणनीतिबारे जानकारी गराउनु भएको थियो ।
नेपाल नेत्रज्योति संघका केन्द्रीय अध्यक्ष प्रा.डा. चेतराज पन्तले दाङ शाखाअन्तर्गत सञ्चालित अस्पताल तथा कार्यक्रमहरूको सेवा उत्कृष्ट रहेको बताउनुभयो । वरिष्ठ उपाध्यक्ष श्यामकुमार पोख्रेल र महासचिव भरतबहादुर चन्दले पनि राप्ती आँखा अस्पतालले प्रदान गर्दै आएको सेवा र सञ्चालन गरेका कार्यक्रमको प्रशंसा गर्नुभयो ।
कार्यक्रममा नेपाल नेत्रज्योति संघ दाङका उपसभापति रेशमबहादुर खड्काले स्वागत मन्तव्य राख्नुभएको थियो । दाङ शाखाका सभापति कृष्णकुमार गिरीले आँखा अस्पतालको सेवा विस्तार र विकासका लागि आफूहरू निरन्तर लागिरहेको बताउँदै केन्द्रीय पदाधिकारीहरूलाई दाङमा स्वागत गर्न पाउँदा खुसी लागेको बताउनुभयो । कार्यक्रमको सहजीकरण संघ दाङ शाखाका सचिव घनश्याम सुवेदीले गरेका थिए ।





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।