तुलसीपुर, ६ असोज । दाङमा असोज ९ गतेदेखि ११ गतेसम्म हावाहुरी, चट्याङसहित भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेकाले जिल्ला प्रशासन कार्यालयले सतर्कता अपनाउन आग्रह गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र मौसम विज्ञान विभागका अनुसार बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रका कारण देशका विभिन्न भागसँगै दाङमा पनि भारी वर्षाको सम्भावना रहेको हो ।
कार्यालयले एक सुचना जारी गर्दै भारी वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो तथा दाङ जिल्ला भएर बग्ने बबई र राप्ती नदीलगायत नदी तथा खोलामा बाढी र कटानको जोखिम बढ्न सक्ने भएकाले नदी तथा खोलाको आसपासमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय दाङले जिल्ला विपद् व्यवस्थापन समितिको बैठकबाट सम्भावित विपद्जन्य जोखिम न्यूनीकरणका लागि सुरक्षा निकाय, स्थानीय तह, क्षेत्रगत क्लस्टर, रेडक्रस तथा सम्बन्धित सरोकारवाला निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिएको जनाएको छ ।
प्रशासनले अत्यावश्यक कामबाहेक टाढा तथा रातिको समयमा यात्रा नगर्न, जोखिमयुक्त क्षेत्रमा नजान र सम्भावित जोखिमबाट बच्न विशेष सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ । प्रशासनले विपद् सम्बन्धी सूचना तत्काल आदान–प्रदान गर्न तथा आमसञ्चार माध्यममार्फत विपद् सचेतना फैलाउन समेत सम्बन्धित निकायलाई आग्रह गरेको छ ।





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।