२०८३ असोज १८ गते आइतवार

कक्षा ११ का विद्यार्थीलाई स्वागत गर्दै जिसीले भने– ‘मोबाइललाई ज्ञानको स्रोत बनाऔँ’

तुलसीपुर १७ असोज  । ज्ञानज्योति एजुकेसन फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र जिसीले मोबाइल फोनलाई सही र सिर्जनात्मक ढंगले प्रयोग गर्न सके त्यसलाई ज्ञानको शक्तिशाली पुस्तकालयका रूपमा उपयोग गर्न सकिने बताउनुभएको छ ।

ज्ञानज्योति माध्यमिक विद्यालय तुलसीपुरमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीको स्वागतमा आयोजित कार्यक्रममा बोल्दै जिसीले प्रविधिको सही प्रयोगसँगै विद्यार्थीले पाठ्यपुस्तकभन्दा बाहिरको जीवन र समाजबाट पनि सिक्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले विद्यार्थीलाई असल र सफल बन्नका लागि ज्ञानसँगै विनम्रता तथा अनुशासन आवश्यक रहेको बताउनुभयो । अभिभावकले आफ्ना सन्तानमाथि ठूलो आशा, विश्वास र सपना राखेको उल्लेख गर्दै जिसीले राम्रो विद्यार्थी बन्नुअघि असल मानव बन्न विद्यार्थीलाई आग्रह गर्नुभयो । कार्यक्रमको उद्घाटन फाउन्डेसनका संस्थापक टीकाबहादुर जिसीले गर्नुभएको थियो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी होमबहादुर पराजुलीले विद्यार्थी नै भविष्यको समाजका मार्गदर्शक भएकाले उनीहरूको क्षमता पहिचान गरी उचित अवसर र सम्मान दिनुपर्ने बताउनुभयो । व्यक्तिको क्षमता र प्रतिभाको पहिचान तथा सम्मानले अपराध न्यूनीकरणमा समेत सकारात्मक भूमिका खेल्ने उहाँको भनाइ थियो ।

रिपोटर्स क्लब दाङका अध्यक्ष शरद रेग्मीले ज्ञानज्योति एजुकेसन फाउन्डेसनले शिक्षा क्षेत्रमा मात्रै सीमित नभई सामाजिक उत्तरदायित्वका विभिन्न क्षेत्रमा समेत योगदान गर्दै आएको बताउनुभयो ।

कार्यक्रममा लोकगायक अर्जुन सापकोटाले सांगीतिक प्रस्तुति दिनुभएको थियो । विभिन्न जातजाति तथा समुदायका संस्कृति र भेषभूषा झल्काउने नृत्यसमेत प्रस्तुत गरिएको कार्यक्रममा विद्यार्थी तथा उपस्थित सहभागीले मनोरञ्जन लिएका थिए ।कार्यक्रमको सहजीकरण सन्तोष केसी र सोमराज बस्नेतले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८३ असोज १७ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।