२०८३ असोज १६ गते शुक्रवार

सम्पत्तिमाथिको अधिकार र आर्थिक न्यायबारे तुलसीपुरमा अभिमुखीकरण कार्यक्रम

तुलसीपुर  १६ असोज। “समग्र विकासको अवरोध, जातीय तथा लैङ्गिक विभेद” भन्ने मूल नाराका साथ तुलसीपुरमा सम्पत्तिमाथिको अधिकार र आर्थिक न्याय विषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

दलित महिला संघ दाङको आयोजनामा सम्पन्न कार्यक्रममा महिलाको सम्पत्तिमाथिको अधिकार, आर्थिक न्याय, जातीय तथा लैङ्गिक विभेदको अन्त्य र अधिकार प्राप्तिका विषयमा सहभागीहरूलाई जानकारी गराइएको थियो। कार्यक्रमको अध्यक्षता मनकामना दलित समूहकी अध्यक्ष अमृता दीक्षितले गर्नुभएको थियो। कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका–८ का वडाध्यक्ष धर्मराज ओली प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो भने दलित महिला संघ दाङकी अध्यक्ष युवा करारा  विशिष्ट अतिथि रहनुभएको थियो। सामाजिक अभियन्ता खेमराज विश्वकर्माको पर्यवेक्षणमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष ओलीले महिलाको आर्थिक अधिकार सुनिश्चित गर्न सम्पत्तिमाथिको अधिकारबारे समुदायस्तरमै व्यापक चेतना आवश्यक रहेको बताउनुभयो। कानुनले प्रदान गरेका अधिकार व्यवहारमा कार्यान्वयन गर्न परिवार, समुदाय र स्थानीय तहबीच सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो। जातीय तथा लैङ्गिक विभेद अन्त्य गर्दै समान अवसर र अधिकार सुनिश्चित गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा उहाँले जोड दिनुभयो।

विशिष्ट अतिथि तथा दलित महिला संघ दाङकी अध्यक्ष युवा कराराले आर्थिक रूपमा पछाडि पारिएका महिला तथा दलित समुदायलाई अधिकारबारे सचेत र आत्मनिर्भर बनाउने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो। सम्पत्तिमाथिको समान अधिकार र आर्थिक न्याय सुनिश्चित गर्न महिलाको सहभागिता तथा निर्णय क्षमता बढाउनुपर्ने उहाँको भनाइ थियो। कार्यक्रममा मनकामना दलित समूहकी सचिव लक्ष्मी विकले स्वागत मन्तव्य राख्नुभएको थियो भने लगनशील दलित महिला समूहकी अध्यक्ष सीता स्वर्णकारले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

अभिमुखीकरण कार्यक्रममा करिब ४० जनाको सहभागिता रहेको थियो। सहभागीहरूलाई सम्पत्तिमाथिको अधिकार, आर्थिक न्याय, सामाजिक विभेद तथा महिलाका कानुनी अधिकारका विषयमा जानकारी दिइएको थियो। कार्यक्रमले महिलाहरू तथा दलित समुदायलाई आफ्नो अधिकारबारे सचेत बनाउँदै आर्थिक र सामाजिक रूपमा सशक्त बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने आयोजकले जनाएको छ।

प्रकाशित मिति : २०८३ असोज १६ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।