सल्यान २५ भदौ । ६०औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा मंगलबार सल्यानमा आयोजित जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगितामा प्रथम स्थान हासिल गरेकी छत्रेश्वरी गाउँपालिका–३ की चाँदनी दाहाललाई विद्यालयले सम्मान गरेको छ।
‘समृद्धिका लागि समावेशीता र डिजिटल साक्षरता’ विषयमा मंगलबार सम्पन्न प्रतियोगितामा जिल्लाका ८ वटा स्थानीय तहबाट १६ जना विद्यार्थीको सहभागिता रहेको थियो। प्रतियोगितामा छत्रेश्वरी गाउँपालिका–३ स्थित जानकी माध्यमिक विद्यालय दोहलीमा कक्षा ९ मा अध्ययनरत चाँदनी दाहालले उत्कृष्ट प्रस्तुति दिँदै प्रथम स्थान हासिल गरेकी हुन।
जिल्लास्तरीय प्रतियोगितामा प्रथम स्थान हासिल गरेर विद्यालयको नाम उच्च राखेकी चाँदनीलाई बुधबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरी खादा तथा माला लगाएर सम्मान गरिएको हो। उनको सफलताले विद्यालय परिवार, अभिभावक तथा स्थानीय समुदायमा खुसी छाएको छ। छत्रेश्वरी गाउँपालिका–३, मुलखोलामा सामान्य परिवारमा जन्मिएकी चाँदनीको यो सफलता उनको मेहनत र लगनशीलताको परिणाम हो। तर, उनको सफलताको पछाडि परिवारका लागि वर्षौँदेखि परदेशमा पसिना बगाइरहेका बुवाको त्याग पनि जोडिएको छ।
छोराछोरीको उज्ज्वल भविष्यका लागि करिब एक दशकदेखि खाडी मुलुकमा रोजगारी गर्दै आएका बुवा वसन्त दाहालले छोरी जिल्लामै प्रथम भएको खबर सुन्दा खुसीले आँखाबाट आँसु झरेकोसमेत थाहा नपाएको बताउनु भयो। ‘छोराछोरीको भविष्य राम्रो बनाउन परदेशमा दुःख गरिरहेको छु। छोरी प्रथम भएको खबर सुन्दा मैले गरेको दुःखको फल पाएजस्तो लाग्यो,’ वसन्तले भावुक हुँदै भन्नुभयो।
परिवारको आर्थिक अवस्था सामान्य भए पनि चाँदनीले अध्ययनप्रतिको लगन, आत्मविश्वास र निरन्तर मेहनतलाई आफ्नो सफलताको आधार बनाएकी छन्। उनको उपलब्धिले ग्रामीण क्षेत्रका विद्यार्थीमा पनि अवसर र प्रोत्साहन पाए उत्कृष्ट क्षमता प्रदर्शन गर्न सक्छन् भन्ने सन्देश दिएको छ। चाँदनीको सफलतामा विद्यालयको सम्मान, परिवारको खुसी र परदेशमा रहेका बुवाको वर्षौँको त्याग एकैपटक जोडिएको छ। खाडीमा बुवाले बगाएको पसिनाको मिठो प्रतिफल अहिले छोरीको सफलतामा देखिएको छ।





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।