काठमाण्डौ, १३ साउन । सुनसरीमा उत्पन्न पछिल्लो परिस्थितिलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहलमा आज बिहान सर्वदलीय बैठक बसेको छ । सिंहदरबारमा बसेको बैठकमा सहभागी राजनीतिक दलहरूले सामाजिक सद्भाव कायम राख्न साझा प्रतिबद्धता जनाएका छन् । रास्वपाका सभापति रवि लामिछानेले आह्वान गरेको बैठकमा सहभागी प्रमुख प्रतिपक्षी तथा अन्य राजनीतिक दलका नेताहरूले सुनसरीमा उत्पन्न घटनाप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र शान्ति कायम राख्न अपील गरेका हुन् ।
बैठकपछि कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुनसरी लगायतका ठाउँमा शान्ति सुरक्षा कायम गर्न सबै दलले संयुक्त विज्ञप्ति जारी गर्ने सहमति भएको जानकारी दिनुभयो । बैठकमा कांग्रेसले सरकारको भूमिका प्रति प्रश्न उठाएको छ । कांग्रेस सभापति गगन थापाले प्रधानमन्त्री शाह र उहाँ नेतृत्वको सरकारको उपस्थिति नदेखिएको भन्दै असन्तुष्टि जनाउनुभयो ।
त्यस्तै नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुनसरीको परिस्थितिप्रति गम्भीर चिन्ता प्रकट गर्नुभयो । उहाँले सबै पक्षले संयम अपनाउँदै सामाजिक सद्भाव र आपसी विश्वास कायम राख्न अग्रसर हुनुपर्नेमा जोड दिनुभएको छ । घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गर्दै उहाँले यो समय राजनीतिक तिक्तता बढाउने नभई राष्ट्रिय जिम्मेवारी प्रदर्शन गर्ने समय भएको उल्लेख गर्नुभयो । एमालेका महासचिव शंकर पोखरेलले सुनसरीका नागरिकका लागि सरकारले अभिभावको भूमिका खेलेको छ भन्ने प्रत्याभूति हुनुपर्ने धारणाराख्नु भएको थियो ।
बैठकमा सहभागी अन्य दलका प्रतिनिधिले पनि सुनसरी लगायत सम्भावित प्रभावित क्षेत्रमा पूर्वसतर्कता अपनाउन र तल्लो तहसम्म सर्वदलीय प्रयासलाई अगाडि बढाउन साझा सहमति जनाएका छन् । आजको सर्वदलीय बैठकमा प्रधानमन्त्री शाह र गृहमन्त्री सुधन गुरुङ सहभागी हुनुभएन ।बैठकमा नेपाली कांग्रेसका सभापति गगन थापा, संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड, एमाले महासचिव शंकर पोखरेल, श्रम संस्कृति पार्टीका आर्यन राई, राप्रपाका अध्यक्ष राजेन्द्र लिंदेन, सांसद खुस्बु ओली, जनमत पार्टीका अध्यक्ष सीके राउत लगायतका नेताहरुको सहभागिता रहेको थियो ।





