२०८३ साउन ३० गते शनिवार

दाङको एक विद्यालयमा शौचालय जान पनि लाइन

भालुवाङ, ३० साउन । दाङको विकट क्षेत्र राप्ती गाउँपालिका–५ करङ्गेकोटमा रहेको जनता माध्यमिक विद्यालयमा शौचालय र खानेपानीको समस्या देखिएको छ। विद्यालयमा पर्याप्त शौचालय नहुँदा विद्यार्थी तथा शिक्षकलाई शौचालय जानसमेत लाइनमा बस्नुपर्ने अवस्था रहेको छ। त्यस्तै, वर्षायाम सुरु भएसँगै विद्यालयमा खानेपानीको समस्या झन् बढेको विद्यालय प्रशासनले जनाएको छ।

विद्यालयमा रहेका तीनवटा शौचालयमध्ये एउटा जीर्ण भएर प्रयोगविहीन अवस्थामा छ। बाँकी दुईवटा शौचालय मात्रै सञ्चालनमा छन्। विद्यार्थी र शिक्षकको संख्याअनुसार पर्याप्त शौचालय नहुँदा शौचालय जान पालो कुर्नुपर्ने बाध्यता रहेको विद्यालयकी प्रधानाध्यापक सरस्वती आचार्यले बताउनुभयो।

“एउटा शौचालय बिग्रिएको छ। दुईवटा शौचालयले विद्यार्थी र शिक्षकलाई पुग्दैन। दिसापिसाब गर्न पनि लाइनमा बस्नुपर्ने अवस्था छ,” प्रधानाध्यापक आचार्यले भन्नुभयो।

त्यस्तै, विद्यालयमा खानेपानीको समेत समस्या रहेको उहाँले बताउनुभयो। विद्यालयमा सोलार सिस्टममार्फत धारा सञ्चालनमा रहेको भए पनि वर्षायाममा पर्याप्त घाम नलाग्दा सोलारले काम नगर्ने र धारामा पानी नआउने समस्या रहेको छ।

धारामा पानी नआएपछि विद्यालयका शिक्षक तथा कर्मचारीले करिब २०–२५ मिनेट हिँडेर मुहानबाट पानी बोकेर ल्याउनुपर्ने बाध्यता रहेको प्रधानाध्यापक आचार्यले बताउनुभयो। पर्याप्त खानेपानी उपलब्ध नहुँदा शौचालयसमेत फोहोर हुन थालेको उहाँको भनाइ छ।

विद्यालय प्रशासनका अनुसार समस्या समाधानका लागि राप्ती गाउँपालिकालाई जानकारी गराए पनि हालसम्म अपेक्षित ध्यान पुग्न सकेको छैन।

यता, यस विषयमा गाउँपालिकाको शिक्षा शाखासँग बुझ्दा तत्काल स्थलगत अवलोकन गरी अस्थायी रूपमा शौचालय निर्माण गरेर सञ्चालनमा ल्याउने तयारी भइरहेको जनाएको छ। आगामी हिउँदे अधिवेशनबाट बजेटको व्यवस्था गरी स्थायी शौचालय निर्माण गर्ने तथा खानेपानीको समस्या समाधानका लागि सम्बन्धित शाखासँग समन्वय गर्ने शिक्षा शाखाले जनाएको छ।

विकट क्षेत्रका विद्यार्थी अध्ययन गर्ने विद्यालयमा आधारभूत सुविधाकै रूपमा रहेका शौचालय र खानेपानीको समस्या लामो समयसम्म रहँदा विद्यार्थीको स्वास्थ्य, सरसफाइ तथा पठनपाठनमा समेत प्रत्यक्ष असर पर्न सक्ने विद्यालय प्रशासनले जनाएको छ।

प्रकाशित मिति : २०८३ साउन ३० गते शनिवार
प्रतिक्रिया