२०८३ साउन २३ गते शनिवार

सल्यानमा शिकार खेल्न गएका एक जनाको बन्दुकको गोली लागेर मृत्यु, छ जना पक्राउ

फोटो फाईल

तुलसीपुर, २३ साउन । सल्यानमा साथीहरुसंग शिकार खेल्न गएका एक जनाको बन्दुकको गोली लागेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार कालिमाटी गाउँपालिका–३ स्थित धरानी सामुदायिक वनमा हिजो राती शिकार खेल्न गएका कालिमाटी गाउँपालिका–२ बराहडुंगा बस्ने अन्दाजी ६२ वर्षीय टोपबहादुर पुन मगरको गोली लागेर मृत्यु भएको हो । शिकार खेल्ने क्रममा फायर गरेको भरुवा बन्दुकको गोली लागेर पुनको घटनास्थलमा मृत्यु भएको डिएसपी दिपक पातलीले जानकारी दिनुभयो ।

उहाका अनुसार उनीहरु शुक्रवार बेलुका करिब ८ बजेतिर शिकार खेल्न गएको भनेता पनि घटना बारे प्रहरीलाई राती १० बजेतिर खबर आएको थियो । घटना पश्चात प्रहरीको टोलीले शिकार खेल्न गएका छ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कालिमाटी गाउँपालिका–३ बल्लेका ५६ वर्षीय मानबहादुर विक, सोही ठाउँका ४३ वर्षीय जुद्ध बहादुर रेउले, ३२ वर्षीय खुमेन्द्र बहादुर रेउले, ३५ वर्षीय सेईतराम थापा, ५९ वर्षीय कुलबहादुर बुढाथोकी र कालिमाटी–२ बराहडुंगाका ७२ वर्षीय पदमबहादुर श्रीसमगर रहेको डिएसपी पातलीले जानकारी दिनुभयो । पक्राउ परेकाहरु माथी आबश्यक अनुसन्धान भईरहेको उहाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८३ साउन २३ गते शनिवार
प्रतिक्रिया