२०८३ भाद्र २ गते मङ्गलवार

न्यायाधीश गोकर्णसहित ४ जनालाई हेलिकप्टर मार्फत काठमाण्डौ लगियो

मकवानपुर । दुर्घटनामा घाइते हुनुभएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश गोकर्ण डाँगीलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ । नेपाली सेनाको हेलिकप्टर मार्फत डाँगीसहित अन्य ३ जनालाई थप उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा घाइते भएका सवारी चालक र उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जका रजिष्ट्रार तारादत्त बडुलाई भने थप उपचारका लागि हेटौँडा अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक माधव काफ्लेले जानकारी दिए ।

उहाँका अनुसार भीमफेदी–६, जुरिखेलमा बिहान स्कारपियो दुर्घटनामा न्यायाधीश दाङको तुलसीपुर–९ दोघरे निवासी ५७ वर्षीय डाँगीसहित चालक दाङ राप्ती–८ का ३२ वर्षीय छुनिलाल चौधरी, बैतडी दशरथचन्द–७ का ५१ वर्षीय तारादत्त बडु, उनकी श्रीमती ४९ वर्षीया लक्ष्मी बडु, छोरा २५ वर्षीय रितेन्द्र बडु र दिदी ३१ वर्षीया रिता बडु रहेका छन् ।

प्रहरीका अनुसार लक्ष्मीको अवस्था गम्भीर छ भने अन्य पाँच जनाको अवस्था मध्यम रहेको छ । प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो मंगलबार बिहान काठमाडौँबाट वीरगन्जतर्फ आउँदै गर्दा सडकबाट करिब ६० मिटर तल खसेर दुर्घटना भएको थियो ।

प्रकाशित मिति : २०८३ भाद्र २ गते मङ्गलवार
प्रतिक्रिया