२०८३ भाद्र ११ गते बिहिवार

तुलसीपुर उपमहानगरका प्रवक्ता वलीको नेतृत्वमा आफन्त सहितको टोली नारायणघाट पुग्यो

तुलसीपुर, ११ भदौ । भोटेकोशी र त्रिशूली नदीमा हिजो अकस्मात आएको बाढीका कारण सम्पर्कविहीन भएका दाङ तुलसीपुरका नागरिकको खोजीका लागि तुलसीपुर उपमहानगरपालिकाका नगर प्रवक्ता तथा वडा नम्बर १८ का अध्यक्ष माधव वलीको नेतृत्वमा आफन्त सहितको एक टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ। नगर प्रवक्ता वलीसहित तुलसीपुर १३ का वडा अध्यक्ष मोहन पौडेल, वडा नम्बर १९ का वडा सदस्य रामबहादुर पौडेल र सम्पर्क विहिन भएका नागरिकका आफन्तहरू सहितको टोली त्यस तर्फ प्रस्थान गरेको हो । उक्त टोली आज बिहान घटनास्थलतर्फ प्रस्थान गरेको वडा अध्यक्ष पौडेलले जानकारी दिनुभयो।

तुलसीपुरका विभिन्न वडाबाट रोजगारी तथा मजदुरीका लागि रसुवा र नुवाकोट पुगेका केही नागरिक बाढी आएपछि अचानक सम्पर्कविहीन भएपछि परिवारका सदस्यलाई समेत साथमा लिएर खोजीका लागि घटनास्थलतर्फ जानुपरेको तुलसीपुर १३ का वडा अध्यक्ष पौडेलले बताउनुभयो। उहाँका अनुसार तुलसीपुर–१३ बाट मात्रै चार जना आफन्त टोलीमा सहभागी छन्। त्यसैगरी तुलसीपुर–२, वडा नम्बर १९ लगायत अन्य वडाबाट समेत आफन्त र जनप्रतिनिधि गरी दुईवटा गाडीमा झन्डै १०/१२ जनाको टोली घटनास्थलतर्फ जान लागेको उहाले बताउनुभयो ।
वडा अध्यक्ष पौडेल संग तुलसीपुर खबरले बेलुकी साढे पाँच बजेतिर गरेको फोन सम्वादमा आफुहरु अहिले चितवनको नारायणघाट आसपास पुगेको जानकारी दिनुभयो।

उहाँका अनुसार भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीपछि आफन्तसँग सम्पर्क हुन नसकेका कारण उनीहरूको अवस्था बुझ्न र सम्भावित खोजी तथा उद्धार कार्यमा सहयोग गर्न टोली घटनास्थलतर्फ गएको हो। उहाले नारायणघाटबाटै खोजी कार्य सुरु गर्ने र आबश्यक परेमा घटनास्थल सम्म पुग्ने तयारी गरेको बताउनुभयो । तिब्बततर्फबाट आएको बाढीका कारण भोटेकोशी तथा त्रिशूली नदी आसपासका क्षेत्रमा ठूलो क्षति भएको र धेरै मानिस सम्पर्कविहीन भएको खबरपछि तुलसीपुरबाट समेत आफन्त तथा जनप्रतिनिधि घटनास्थलतर्फ लागेका हुन् ।

प्रकाशित मिति : २०८३ भाद्र ११ गते बिहिवार
प्रतिक्रिया