बारा,२४ भदौ । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२१ स्थित वडा कार्यालय नजिकै पूर्व–पश्चिम राजमार्गबाट लागूऔषध ट्रामाडोल क्याप्सुलसहित एक युवक पक्राउ परेका छन्। पूर्व–पश्चिम राजमार्गअन्तर्गत जितपुरसिमरा–२१ मा चेकजाँचका क्रममा वीरगन्जबाट चितवनतर्फ जाँदै गरेको ना.५ ख ७६२३ नम्बरको यात्रुवाहक बस रोकी जाँच गरिएको थियो। सो क्रममा बसको हुड ¥याकमा राखिएका दुईवटा क्यारी ब्याग फेला परेपछि प्रहरीले चेकजाँच गर्दा ठूलो परिमाणमा लागूऔषध ट्रामाडोल क्याप्सुल बरामद गरेको हो।
प्रहरीका अनुसार उक्त क्यारी ब्यागबाट १८ हजार ३०० पिस ट्रामाडोल क्याप्सुल बरामद भएको छ। लागूऔषधसहित पर्साको वीरगन्ज महानगरपालिका–१६ बस्ने करिब १९ वर्षीय आनन्द चौरसियालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ परेका चौरसियामाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाउँदै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।।
टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।